४ माघ, काठमाडौं । शिक्षक अस्पतालका ठाउँ खोज्न गठित अध्ययन समतिले चितवनको भरतपुर सिफारिस गरेको छ ।
शिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई प्रतिवेदन बुझाउँदै शिक्षक अस्पतालका लागि चितवनको भरतपुर महानगरपालिका–१५ भगवानपुर उपयुक्त हुने भनी सिफारिस गरेको हो ।
समतिले चितवनसंगै भक्तपुरको सुर्यविनायक नगरपालिका–८ जागती, सुर्यविनायक नगरपालिका–४ गुन्डु र मकवानपुर जिल्लाको थाहा नगरपालिका–१० चित्लाङमा शिक्षक अस्पताल निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन गरेको थियो ।
अध्यनपश्चात समितिले भरतपुर महानगरपालिका–१५ भगवानपुर कित्ता नम्बर (५०,५१,५२,६०,६१,६२ र ६३) प्रस्तावित शिक्षक अस्पतालका लागि २१ विद्या जग्गा उपुयक्त रहेको निष्कर्ष निकालेको हो ।
समितिका संयोजक डा. विमल शर्मा चालिसले देशको लगभग सबै क्षेत्रका लाभग्राहीले सुविधा लिन सक्ने ठाउँ रहेको र भौतिक संरचना निर्माण गर्नका लागि जग्गा सम्याउने, पर्खाल लगाउने जस्ता साईट डेभ्लपमेन्ट कार्यमा चितवन किफायति हुने देखिएको बताए ।
३०० शैया क्षमताको संघीय शिक्षक अस्पताल बनाउने सरकारको तयारी छ । यसका लागि सरकारबाट स्वीकृत मापदण्ड बमोजिम भवन तथा पूर्वाधार, प्रशासकीय कार्यालय, बहिरंग विभाग, अन्तरंग विभाग, इमर्जेन्सी विभाग, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी विभाग, क्यान्टिनसहितको सुविधा आवश्यक पर्छ । साथसाथै वातावरणीय संरक्षण ऐन २०७६ बमोजिम वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरी मापदण्डले तोके बमोजिम जनशक्ति व्यवस्थापनका लागि प्रक्रिया अगाडी बढाउन पनि समितिले मन्त्रालयसमक्ष सिफारिस गरेको छ ।
प्रतिवेदन बुझ्दै मन्त्री पौडेलले प्रतिवेदनमा उल्लेख गरिएका जग्गाको विषय मन्त्रिपरिषद्मा लैजाने बताएका छन् । ‘प्रस्तावित जग्गाहरुको विषयमा थप अध्ययन हुन्छ । र अध्ययन लगत्तै स्वीकृतिका लागि मन्त्रिपरिषदमा लैजान्छु ।’ मन्त्री पौडेलले भनेका छन् ।
शिक्षक अस्पताल निर्माणका लागि जग्गा खोज्न सरकारले गत कात्तिक २२ गते डा. चालिसेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो ।
अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक बर्षको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमार्फत शिक्षक अस्पताल बनाउने घोषणा गरेका थिए । बजेट कार्यान्वयनका लागि शिक्षा मन्त्रालयले काम अघि बढाएको हो ।







