७ माघ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढी शुल्क लिने मेडिकल कलेजमाथि कारबाही गर्न गृहमन्त्रीलाई सिफारिस गरेको छ ।
बिहीबार संयुक्त विद्यार्थी संगठनका नेताहरुलाई मन्त्रालयमा बोलाएर शिक्षामन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा बढी शुल्क लिने मेडिकल कलेजका सञ्चालकलाई कारबाही गर्न गृहमन्त्रालयलाई सिफारिस गरेको जानकारी दिएका हुन् ।
‘मन्त्री पद गौण हो, म विद्यार्थीको पक्षमा छु’ मन्त्री पौडेलले विद्यार्थी नेताहरुसंग भनेका छन्, ‘विद्यार्थीको पक्षमा उभिँदा पद गए पनि केही फरक पर्दैन ।’
विद्यार्थी संगठनका नेताहरुसँग छलफल चलिरहेकै बेला गृहमन्त्रीलाई फोन गरेर मन्त्री पौडेलले आफू विद्यार्थीको पक्षमा रहेको उल्लेख गर्दै तत्काल कदम चाल्न आग्रह गरेका थिए ।
२०७५ मा बनेको चिकित्सा शिक्षा ऐनले विद्यार्थी ठगी गर्ने कलेजलाई कारबाही गर्ने अधिकार गृहमन्त्रालयलाई दिएको छ । सोही अनुसार शिक्षा मन्त्रालयले विद्यार्थीले बढी शुल्क लिएको भनी दिएका प्रमाणहरु समेत गृहमन्त्रालयमा पठाएको छ ।







