एकैदिन २५ फरार अभियुक्त पक्राउ

असोज ५, तनहुँ ।
जिल्लामा २४ घन्टाभित्र २५ जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार विभिन्न अभियोगमा फरार रहेका २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अदालतले दोषी ठहर गरेका तर फरार भएका अभियुक्त पक्राउ गर्ने अभियान चलाएको तनहुँ प्रहरी प्रमुख एसपी अरुण पौडेलले बताए । उनका अनुसार प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्ने क्रममा गत साता एकैदिन ३५ जनालाई पक्राउ गरेको थियो ।

जिल्लामा फरार अभियुक्त पक्राउ गर्न विशेष टोली नै गठन भएको छ । बहुविवाह, लागूऔषधसहितका विभिन्न मुद्दामा कैद भुक्तान र जरिवाना तिर्न बाँकी व्यक्तिहरू प्रहरीको निशानामा परिरहेका छन् ।

कतै साथी त कतै ग्राहक बनेर फरार अभियुक्तलाई पक्राउ गरिरहेको तनहुँ प्रहरीले जनाएको छ । यस्ता अभियुक्तको सूची नै तयार गरी पक्राउ गरी प्रहरी खटाइएको हो ।