हुबहु सार्ने पत्रपत्रिकालाई प्रेस काउन्सिलको कारबाही

१८ माघ, काठमाडौं । प्रेस काउन्सिल नेपालले सामाचार सामग्री हुबहु सार्ने पत्रपत्रिकालाई कारबाही गरेको छ । काउन्सिलले पछिल्लो वर्षको वर्गीकरणमा ३४ वटा पत्रपत्रिकाले हुबहु सारेको भन्दै वर्गीकरण प्रक्रियाबाटै हटाउने निर्णय गरेको हो ।

दुई आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक गर्दै काउन्सिलले पत्रपत्रिका वितरण संपरीक्षण समितिको प्रतिवेदनका आधारमा वर्गीकरण नतिजा प्रकाशन गरिएको विज्ञप्तिमार्फत जनाएको छ ।

विभिन्न कारणले देशभरका पत्रपत्रिकाको वर्गीकरण झण्डै तीन वर्षदेखि सार्वजनिक हुनसकेको थिएन । नतिजाअनुसार आव २०७५/७६ को वर्गीकरणका लागि आवेदन दिने ८८३ (प्रदेशस्तर १६६, राष्ट्रियस्तर १६५, स्थानीयस्तर ५५२) पत्रपत्रिकामध्ये ‘क’ वर्गमा २१९ पत्रपत्रिका वर्गीकृत भएका छन् । यस्तै ‘ख’मा ४७६ पत्रपत्रिका, ‘ग’ मा १३७ पत्रपत्रिका र ‘घ’ वर्गमा १५ पत्रपत्रिका वर्गीकृत भएका छन् ।

काउन्सिलले नतिजामा चित्त नबुझे नतिजा सार्वजनिक भएको १५ दिन र दोब्बर दस्तुरसहित थप सात दिनसम्म सुरुमा निवेदन दिँदाको दस्तुरको २५ प्रतिशत दस्तुरसहित पुनःयोग÷पुनःमूल्याङ्नका लागि निवेदन दिन सकिने जनाएको छ ।

पत्रपत्रिका वर्गीकरणको नतिजा प्रेस काउन्सिल नेपालको वेबसाइट र फेसबुक पेजमा समेत राखिएको छ । पत्रकारितामा पछिल्लो समय आचारसंहिता उल्लङ्घनका घटना बढिरहेको काउन्सिलले जनाएको छ ।

कतिपय सञ्चारमाध्यमले गैरजिम्मेवार भई समाचार सम्प्रेषण गर्ने, हुबहु गर्ने, जथाभावी अडियो तथा भिडियो बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने गरेको सम्बन्धमा काउन्सिलमा उजुरी बढेको विज्ञप्तिमा उल्लेख छ ।

काउन्सिलले यसतर्फ गम्भीर भई स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित पत्रकारितामैत्री प्रेस काउन्सिल नेपालको नाराअनुसार आचारसंहिताको पूर्णपालना गर्न सम्पूर्ण पत्रकार तथा सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।