२० माघ, काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिका–३ मुर्गियाका लोकदोहोरी गायक रामप्रसाद पौड्यालले नयाँ गीति एल्बम् बजारमा ल्याउनुभएको छ ।
“बालुमै” नामक सो गीति एल्बममा शब्द संयोजन प्रल्हाद सुवेदी र सङ्गीत वसन्त थापाले गर्नुभएको छ । विभिन्न तीन दर्जन गीति एल्बममा गीत गाएका लोकगायक पौडेलले लोकदोहोरीको विधामा दुई अर्वाडसमेत पाउनुभएको छ ।
‘मेरी आमा’ नामक गीतबाट विसं २०७४ मा र ‘बालआश्रम’ नामक गीतबाट जुरी अवार्ड पाउनुभएका उहाँले विसं २०५९ देखि गायन क्षेत्रमा अग्रसर भएको बताउनुभयो । “मेरी आमाले पहाडमा दाउरा–घाँस बोक्दा गीत गाउँदै काम गर्नुहुन्थ्यो, मैले पनि आमाकै प्रेरणाबाट गीत गाउन सुरु गरेँ”, उहाँले भन्नुभयो ।
गायक पौडेलले पारिजात बसाउछ, आमाको माया–२, चट्टै माया मार्यौ, हो की होइन माया लाउनेलगायत तीन दर्जन गीत गाउनुभएको छ । गायक पौडेलले विभिन्न मेला, महोत्वसमा पनि गीत गाएर सम्झौता अनुसार आम्दानी गरेको बताउनुभयो । गीत सङ्गीतमा लागेर उल्लेख्य आम्दानी भएको छैन उहाँले भन्नुभयो । रेडियो नेपालबाट भ्वाइस पास गरेर गायन क्षेत्रमा लागेको उहाँले आर्थिक अभावका कारण काठमाडौँको दोहोरी साँझमासमेत गीत गाएको स्मरण गर्नुहुन्छ ।







