२७ माघ, काठमाडौं प्रमुख विपक्षी दल नेकपा एमालेले आगामी फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पनि सारिदिन सभामुख अग्नि प्रसाद सापकोटालाई आग्रह गरेको छ ।
त्यस दिन एमालेले पार्टीको प्रदेश नम्बर एकको प्रदेशस्तरीय भेला विराटनगरमा आयोजना गरेको छ । यहि कारण उसले प्रतिनिधिसभाको बैठक सार्न भनेको हो ।
‘बैठक जुध्यो र त्यस दिनको प्रतिनिधिसभा बैठक अर्को दिन सारिदिनका लागि आग्रह गरेको छु’ एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने ।
प्रदेशस्तरीय भेलामा प्रदेशभित्रका जिल्लाका इन्चार्ज र सहइन्चार्ज, पार्टी पदाधिकारी र स्थानीय तहका प्रमुख, उपप्रमुुख तथा अध्यक्ष, उपाध्यक्षहरु र प्रदेशभित्रका सबै सांसदहरु सहभागी हुनुपर्ने भएकाले प्रतिनिधिसभाको बैठक स्थगित गर्न भनिएको उनले बताए ।
पछिल्लो समय प्रतिनिधिसभाको बैठक निरन्तर रुपमा स्थगित हुँदै आएको छ । पुस ७ यता मात्रै प्रतिनिधिसभाको बैठक निरन्तर ६ पटक स्थगित भइसकेको छ । पुस १८, पुस २२, पुस २८, माघ ३ गते, माघ १६ र माघ २६ गते बोलाईको बैठक निरन्तर रुपमा स्थागित हुँदै आएका छन् । कहिले राजनीतिक दलहरुले आग्रहमा त कहिले कोरोना भाइरसको महामारीलाई देखाएर संसद सचिवालयले प्रतिनिधिसभाको बैठक स्थगित गर्दै आएको छ ।
र एमालेले २३ भदौ देखि निरन्तर संसद बैठकमा अवरोध पनि गर्दै आएको छ ।







