२७ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका नेता कमल थापा नेतृत्वको समूहले नेपाललाई हिन्दु राष्ट्र कायम गर्ने मुख्य एजेण्डा लिएर नयाँ दल दर्ता गर्ने निर्णय गरेको छ ।
बिहीबार काठमाडौंको महाराजगंजमा बसेको थापा नेतृत्वको समूहले दल दर्ता गर्ने निर्णय गरेको हो । दल दर्ताका लागि आवश्यक सम्पुर्ण कार्य गर्ने अधिकार स्वमं थापालाई दिइएको छ ।
‘हिन्दुत्य सुशासन र समृद्धिलाई मुख्य एजेण्डा बनाएर दल दर्ता गर्ने निर्णय भएको छ’ थापा निकट नेता राजाराम बर्तौलाले भने । उनी थप्छन्, ‘राजसंस्था छाड्ने नछाड्ने भन्ने कुरा रहेन । नेपाललाई हिन्दु राष्ट्र कायम गर्ने हाम्रो पार्टीको मुख्य एजेण्डा हुनेछ ।’
थापा समूहको छलफलमा नयाँ पार्टीको नाम र चुनाव चिह्नका विषयमा समेत छलफल भएको छ ।
बिहीबार उपस्थिति अधिकांश नेताहरुले ‘राष्ट्रिय एकता पार्टी’ नाम राख्दा उपयुक्त हुने बताएका छन् । चुनाव चिह्न हात्ती, आखाा, गुलाफ वा कमलको फुल राख्ने प्रस्ताव नेताहरुले राखेका छन् ।
यस्तै, पार्टी संरचनालाई पनि चुस्त बनाउने निर्णय भएको छ । ५० देखि एक सय जनासम्म मात्रै केन्द्रीय कमिटी बनाउने र आवश्यकताका आधारमा सानो आकारको पदाधिकारी बनाउनेबारे छलफल भएको छ ।
बिहीबारको छलफलमा राप्रपामा हाल पदाधिकारी र केन्द्रीय सदस्य रहेकाहरुको उपस्थिति नरहेको नेताहरुले बताएका छन् ।







