चुनाव चिन्ह हलो राख्ने सैद्धान्तिक सहमति, औपचारिक निर्णय आज

असोज ५, काठमाडौं ।
एकता भएको ६ महिनापछि बल्ल राष्ट्रिय प्रजातन्त्र पार्टिले चुनाव चिन्हका विषयमा सैद्धान्तिक सहमति कायम गरेको छ । एकिकरण हुनु अघिको राप्रपा र राप्रपा संयुक्तको छुट्टाछुट्टै बसेको कार्यसम्पादन समितिको बैठकले चुनाव चिन्हका रूपमा हलोलाई स्वीकार्ने निर्णय गरेको हो ।

सोमबार बसेका ती बैठकले पूर्व राप्रपा संयुक्तले प्रयोग गर्दै आएको चुनाव चिन्ह हलोलाई प्रयोग गर्ने विषयमा सहमत भएको एक नेताले बताए । राप्रपाले आफ्नो पहिलेको चुनाव चिन्ह गाई छाड्ने निर्णय गरेको हो ।

२०७० सालको निर्वाचनमा राप्रपा चौथो ठूलो दल बन्दा उक्त दलका नेताले चुनाव चिन्ह छाड्न नहुने अडान लिएका थिए । तर अब हलोमा सैद्धान्तिक सहमति भइसकेको र यसको औपचारिक निर्णय मंगलबार बस्ने कार्यसम्पादन समितिको संयुक्त बैठकबाट लिइने ती नेताको भनाइ छ ।

वैशाख तेस्रो साता महाधिवेशन
यसैगरी एकता महाधिवेशन वैशाखमा गर्ने कुरामा पनि दुवै पक्षबीच सहमति जुटेको बताइएको छ । मंगलबारको बैठकपछि नै औपचारिक रूपमा दल दर्ताका लागि निर्वाचन आयोगमा जाने तयारी भएको राप्रपा नेताहरूले बताएका छन् । तर कतिपय नेताका अनुसार मंगलबार ‘शुभ’ नभएकाले अर्कै दिन गएको राम्रो हुने सुझाव दिएका छन् ।

एकता महाधिवेशन वैशाख तेस्रो साता हुनेछ । गत फागुन २४ मा कमल थापा, पशुपतिसम्शेर राणा र प्रकाशचन्द्र लोहनी मिलेर राष्ट्रिय प्रजातन्त्र पार्टि एकीकृत भएको थियो । पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र साझा संस्थाका रूपमा राजतन्त्र रहनेगरी राज्य स्थापना हुनुपर्ने उक्त दलको माग छ ।