आफ्नै पार्टीको संसदीय भूमिकाप्रति भीम रावल आक्रोशित

२३ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलले आफ्नै पार्टीको संसदीय भूमिकाप्रति आक्रोश पोखेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग सिफारिस समितिमा सहभागिता जनाएकोबारे टिप्पणी गरेका छन् ।

उनले नेपाली जनताले देशव्यापी उठाएको र राजनीतिक दलमा सर्वाधिक बहस भएको राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित एमसीसी सम्झौताबारे संसद्‌मा बोल्न नहुने तर प्रधानन्यायाधीश चोलेन्द्रविरूद्ध महाभियोग सिफारिस समिति गठनसमेतको संसदीय प्रक्रियामा सामेल हुने भन्दै प्रश्न गरेका हुन् ।

आइतबार प्रतिनिधि सभाले गठन गरेको महाभियोग सिफारिस समितिमा विष्णु पौडेलसहित एमालेका चार सांसद पनि सामेल भएका छन् ।

रावलले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्,-‘नेपाली जनताले देशव्यापी उठाएको र राजनीतिक दलमा सर्वाधिक बहस भएको राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित एमसीसी सम्झौताबारे संसद्‌मा बोल्न नहुने तर प्रधानन्यायाधीश चोलेन्द्रविरूद्ध महाभियोग सिफारिस समिति गठन समेतको संसदीय प्रक्रियामा सामेल हुने कस्तो नीति हो ? कसरी बुझ्ने ? संसद् अवरोध के भयो त अब ?’