असोज ५, काठमाडौं ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेपछि आत्महत्या गरेका रामहरि सुवेदीको मुद्दाको पूर्णपाठ सार्वजनिक भएको छ । विशेष अदालतले उक्त मुद्दामा सुवेदीले घूस लिएको ‘स्वतन्त्र रूपमा पुष्टि हुन नसकेको’ आधारमा उनलाई सफाइ दिएको छ ।
विशेषका न्यायाधीशहरू चन्द्रबहादुर सारु र रवि शर्मा अर्यालले असार ३० मा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएसँगै सफाइका आधार स्पष्ट भएका हुन् । ‘प्रतिवादी कृष्णप्रसाद घिमिरेले रामहरि सुवेदीलाई फोटोकपि गर्नका लागि पाँच सय रूपैयाँ दिएको भनी अदालतमा गरेको बयानकै आधारमा उक्त रकम रिसवत बापत दिएको अर्थ गरी प्रतिवादीलाई भ्रष्टाचारजस्तो गम्भीर कसूरमा कसूरदार ठहराउन न्यायसम्मत हुने देखिँदैन,’ फैसलामा भनिएको छ ।
मालपोत कार्यालय कलंकीमा कार्यरत खरिदार सुवेदीले सिसिटिभीमा एक व्यक्तिसँग एक हजार रूपैयाँ लिएको देखिएको भन्दै उनलाई गत वर्ष साउन तेस्रो साता अख्तियारले पक्राउ गरेको थियो । लामो समय अख्तियारले हिरासतमा राखेर मानसिक यातना दिएका कारण उनले गत वर्ष असोज ६ मा आत्महत्या गरेका थिए । यही भ्रष्टाचार मुद्दामा विशेष अदालतले उनलाई सफाइ दिएको हो ।
फैसलामा अख्तियारले दाबी गरेअनुसार उनले एक हजार रूपैयाँ घूस लिएको सिसिटिभीमा स्पष्ट नदेखिएको उल्लेख छ । उक्त दाबी अनुसारका प्रमाण पुर्याउन नसकेको आधारमा अदालतले उनलाई सफाइ दिएको हो । अख्तियारको दाबी कतैबाट स्वतन्त्र पुष्टि हुन नसकेको फैसलामा भनिएको छ ।






