प्रहरीको खोजीमा २१ युट्युबर, केहीविरुद्ध पक्राउ पुर्जी जारी

२३ फागुन, काठमाडौं । पल शाह प्रकरणमा पत्रकारिताको न्यूनतम आचारसंहिता पनि बिर्सिएर सामाग्री उत्पादन तथा प्रसारण गर्ने २१ युट्युब च्यानल र तिनका सञ्चालकहरू प्रहरीको खोजी सूचीमा परेका छन्।

साइबर ब्युरोका प्रवक्ता एसएसपी नवीन्द अर्यालका अनुसार फागुन २० गते प्रेस काउन्सिल नेपालले लेखि पठाएको १६ युट्युब च्यानल र साइबर ब्यूरो आफैँले अनुसन्धान गरी थप ५ गरी २१ वटा युट्युब च्यानलमाथि यतिबेला अनुसन्धान भइरहेको छ । ती मध्ये केही युट्युब च्यानलका सञ्चालक र कार्यक्रम प्रस्तोताविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको साइबर ब्युरोले जनाएको छ । यद्यपि ती कुन कुन युट्युब च्यानल हुन् र को को विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको हो भन्नेबारे भने ब्युरोले हालसम्म केही पनि बताएको छैन । ब्युरोका प्रवक्ता अर्यालले भने, ‘हामीले काउन्सिलले पठाएको १६ वटा च्यानल र हामी आफैँले ५ वटा गरी २१ वटा युट्युब च्यानलको सम्बन्धमा अनुसन्धान गरिरहेका छौँ । उनीहरूबाहेक पनि अन्य केहीका बारेमा अनुसन्धान भइरहेको छ । उनीहरू मध्ये केहीलाई पक्राउ गर्न पक्राउ पुर्जी लिइसकेका छौँ र हामी थप युट्युबरमाथि पक्राउ पुर्जी लिने प्रक्रियामा छौँ ।’​

ब्युरोले सोमबार मात्रै सेलेब नेपाल नामक युट्युब च्यानलका सञ्चालक २१ वर्षीय राहुल थापालाई पक्राउ गरेको छ । थापाले सेलेब नेपाल नामक युट्युब च्यानलमा पीडितको मानमर्दन र चरित्र हत्या गर्ने उद्देश्य राखी भ्रामक समाचार सम्प्रेषण गरेको अभियोगमा गुल्मीको भनभने ९ स्थायी घर भई हाल बुटवलमा बस्ने थापालाई पक्राउ गरेको बताएको छ । थापामाथि अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको अनुमति लिइएको र निजमाथि विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम अनुसन्धान गरी मुद्दा लैजाने तयारी भएको ब्युरोले जनाएको छ ।

ब्युरोले थापालाई पक्राउ गरेसँगै युट्युबर पक्राउको सिलसिला सुरु हुने ब्युरोले जनाएको छ । अब पक्राउ अनुमति लिइएका अन्य केही युट्युबर र प्राविधिक विश्लेषणबाट दोषी देखिएका युट्युबरलाई पक्राउ गरी अनुसन्धान र अभियोजन हुने तयारी गरेका छन् ।

पल शाह पक्राउ प्रकरणपछि ज्ञानेन्द्र देउजा, अनुप भट्टराई लगायतका युट्युबरहरुको टोली तनहुँमै पुगेर ‘रिपोर्टिङ’ गरेका थिए । शाह प्रकरणमा पटकपटक पीडित नाबालिगको नामको प्रयोग गरिएको, घटना र तथ्यलाई तोडमोड गरिएको, पीडितमाथि झनै पीडा थपिने गरी सामाग्री उत्पादन तथा प्रसारण गरिएको, अनुसन्धानकै क्रममा रहेको विषयलाई प्रत्यक्ष प्रभाव पार्ने गरी सामाग्रीको प्रसारण गरिएको भन्दै उनीहरूमाथि कारबाहीको प्रक्रिया सुरु गरेको थियो ।

युट्युबरमाथि निगरानी र कारबाहीको प्रक्रिया सुरु भएसँगै तनहुँबाट युट्युबरहरु भागाभाग भएका थिए । कतिपय युट्युबरले आफ्नो युट्युब च्यानलमा अपलोड गरिएका भिडियोहरू प्राइभेटमा राखेका छन् भने कतिपयले ती भिडियोहरू डिलिट नै गरेका छन् ।