असोज ६, धरान ।
अस्पताल छिर्न नदिँदा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक वृद्धाको मृत्यु भएको छ । मृतकमा ७२ वर्षिया पवित्रादेवी तिम्सिना रहेको बताइएको छ ।
उनको आइतबार राति ९ बजे धरानमा मृत्यु भएको हो । झापाको मेचीनगर निवासी तिम्सिनाको श्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि झापाकै कनकाई अस्पताल विर्तामोडमा पुर्याइएको थियो । असोज १ मा त्यहाँ भर्ना गरिए पनि उनको अवस्था झन जटिल बनेकाले तीन दिनपछि अस्पतालले धरान लाने सल्लाह दिएको थियो ।
रेफर गरिएपछि परिवारले आइतबार नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएको थियो तर तीन घण्टासम्म बिरामीलाई अस्पताल प्रवेश गर्न नदिएपछि बिरामीको स्वास्थ्य थप कमजोर बन्दै गएको र समयमा उपचार नपाएकै कारण तिम्सिनाको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनको मृत्युपछि अस्पतालले कोरोना परीक्षणका क्रममा गरेको स्वाब सङ्कलनको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । कोरोना पुष्टि भएपछि तिम्सिनाको सोमबार बेलुका ८ बजे झापाको कनकाई घाटमा परिवारका सदस्य र आफन्तजनका साथमा नेपाली सेनाले दाहासंस्कार गरेको छ ।







