युक्रेनमा रहेका धेरैजसो नेपालीको उद्धार, ३८ परिवार बाहिरिन सकेनन्

२६ फागुन, काठमाडौँ । रुसको जारी सैन्य आक्रमणका कारण असुरक्षित बनेको युक्रेनमा रहेका धेरैजसो नेपालीको उद्धार भइसकेको जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ।

युक्रेनसमेत हेर्ने जिम्मेवारी पाएका जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई बुधबार साँझ सम्बोधन गर्दै राजदूत खड्काले युक्रेनबाट धेरैजसाे नेपाली सुरक्षित स्थानमा पुगेकाे जानकारी दिएका हुन्।

तर ३८ नेपाली परिवार भने व्यवसायसहित स्थायी बसोबासी भएकाले पारिवारिक, कानुनी र व्यावहारिक कारणले युक्रेनमा रहेको उनले जानकारी दिए।

पछिल्लो तथ्यांकअनुसार हालसम्म पोल्यान्डमा ४६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा ८ जना, र ४ जना नेपाली माल्दावा पुगेका हुन्। राजदूत खड्काका अनुसार ३ जना नेपालीलाई भारतीय उडानमार्फत उद्धार गरिएको छ। उनीहरू भारतको नयाँ दिल्ली हुँदै नेपाल जाने तयारीमा छन्।