२८ फागुन, बुटवल ।
लुम्बिनी प्रदेशको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्री शुमन शर्मा रायमाझीले किसानको समस्या समाधानको लागि आफुले सक्दो सहयोग गर्ने बताएकी छन् ।
उनले आफू र आफ्नो सरकार जहिले पनि किसानको पक्षमा रहेको भन्दै यसको लागि सकारात्मक पहल गर्ने बताइन्। लुम्बिनी प्रदेश सरकारसँग सम्बन्धित कुखुरा विकास फार्म खजुरा बाँकेको आयोजनामा कपिलवस्तुमा भएको पोल्ट्री व्यवसाय प्रर्वद्धनका लागि विज्ञ तथा सरोकारवाला बीचको अन्तरक्रिया गोष्ठीमा बोल्दै मन्त्री रायमाझीले किसानको समस्या समाधानको लागि प्रदेश सरकार जहिले पनि सकारत्मक रहेको सुनाइन् ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश, कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका सचिव बैकुण्ठ अधिकारीले निति नियमको पुर्णरुपमा पालन गर्नु आवश्यक रहेको भन्दै सकरार नियमनको लािग जहिले पनि तयार रहेको बताए। उनले किसानको समस्या नै सरकारको समस्या रहेको भन्दै समाधानको लागि सबै एक जुट भएर लाग्नुपर्ने बताए।
पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलका प्रमुख डा. परवेज आलमले पछिल्लो समयमा किसान, व्यवसायीहरुले तोकीएको भन्दा पनि बढि मात्रामा कुखुरामा भिटामिन, औषधी प्रयोग गर्ने गरिएको कारण यसले मन्द विष उत्पादन भैरहेको भन्दै रोक्न जरुरी रहेको बताए।







