काठमाडौँ, फागुन २९
‘हामी गाउँको मान्छे, यसै पनि मनोबल कमजोर हुन्छ । झन् यस्तो कहिल्यै परेको थिएन । पीडकको पक्षमा नाराबाजी भएको देख्दा बेकार मुद्दा दिइएछ भन्ने भयो ।’ रसाएका आँखा रुमालले पुछ्दै बालिकाका बुबाले घरदेखि अदालतसम्म पुग्दाको इतिवृत्तान्त सुनाए ।
माघ पहिलो साता चिनजानकै व्यक्तिमार्फत बालिका अधिवक्ता टंक पौडेललाई भेट्न पुगिन् । आफूमाथि भएका घटनाबारे बताइन् । पौडेलले बालिकालाई जिल्ला प्रहरी कार्यालय कास्कीको महिला तथा बालबालिका सेलमा पठाए । त्यहाँ पनि उसैगरी आफ्नो पीडा सुनाइन् । प्रहरीले उनको मोबाइलमा भएका भिडियो र फोटोका आधारमा घटना भएको सही मिति पत्ता लगायो ।
पोखरामा भएको घटनाको हदम्याद गुज्रिसकेको थियो । बाल यौन दुरुपयोग मात्रैको मुद्दा कमजोर हुन्थ्यो । जिल्ला न्यायाधिवक्तासँग निवासमै पुगेर प्रहरीले राय लियो । तनहुँ र नवलपुर घटनाको हदम्याद गुज्रिएको थिएन । नाबालिगमाथि ०७८ वैशाख १४ मा जबर्जस्ती करणी भएको तनहुँको दुलेगौंडा पोखराबाट २० किलोमिटर मात्रै टाढा थियो । पल शाह भनिने पूर्णविक्रम शाहविरुद्ध तनहुँमा जाहेरी दिने निधो भयो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाका अनुसार एक्लै पुगेकी नाबालिगलाई प्रहरीले अभिभावक लिएर आउन भन्यो । बुबाआमा प्रहरी कार्यालय पुग्नै मानेनन् । प्रहरीले फोनमै सम्झाइबुझाइ गरेपछि मात्रै तीन दिनपछि बुबाआमा जिल्ला प्रहरी कार्यालय पुगे । कास्की प्रहरीले तनहुँका डीएसपी युवराज खड्का र अनुसन्धान अधिकृत नरहरि अधिकारीलाई पोखरा बोलायो । तनहुँमै जाहेरी दर्ता गर्ने विषयमा छलफल चल्यो । ‘वारदात भएकै स्थानमा दर्ता गर्दा मुद्दा स्थापित हुन्छ भनेर तनहुँ पठाउने विषयमा छलफल भएको हो,’ एसपी थापाले भने ।
पीडितका आमाबुबा भने जाहेरी दिन तयार भएनन् । त्यतिन्जेलसम्म पनि पलसँग नै आफ्नो छोरीको घरबार भइदियोस् भन्ने चाहन्थे । छोरी २० वर्ष पुगेपछि पलले बिहे गर्नेमा उनीहरू ढुक्क थिए । आफ्नी छोरीलाई माया गर्ने ठानेर आमाले ८/१० माना घरकै घिउ, तरकारी पठाउने गर्थिन् । यही वर्षको सुरुआततिर पल शाहको टिम नै बालिकाको घरमा पुगेर उनको संरक्षण गर्ने आश्वासन दिएर फर्किएको थियो । कान्तिपुर दैनिकमा खबर छ।







