असोज ६, काठमाडौं ।
चीनको उत्तरपश्चिमी इलाकामा ब्रुसेलोसिस संक्रमण फैलिएको छ । त्यहाँको गान्सु प्रान्तको लानजोउ सहरमा यस संक्रमणबाट सयौं जना बिरामी परेको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ ।
यस संक्रमणको कारण ब्रुसेलोसिस ब्याक्टेरिया भएको पत्ता लागेको छ । उक्त अखबारका अनुसार हालसम्म तीन हजार दुई सय ४५ जनामा यो संक्रमण पुष्टि भइसकेको छ । उक्त प्रान्तको ११ सरकारी संस्थालाई यसको निःशूल्क परीक्षण र उपचारका लागि भनिएको छ । समाचारमा उल्लेख भए अनुसार संक्रमितको संख्या अझै बढ्न सक्नेछ ।
यसरी सुरु भयो संक्रमण
गतवर्ष जुलाइ अगस्टमा खोप बनाउने एक कारखानामा चुहावट भएपछि यो रोग त्यहाँ फैलिएको हो । ब्रुसेलोसिस विरुद्ध खोप बनाउन एक्सपायर भइसकेका किटाणुनासकको प्रयोग गरिएको थियो ।
तर चुहावटपछि हावामा फैलिएर अन्यत्र सरेको जनाइएको छ । लोन्जाउ हेल्थ कमिसनका अनुसार यो रोग फैलिएपछि अनुसन्धान गरी सम्बन्धितलाई कारवाही समेत गरेको थियो ।
संक्रमणका केही तथ्य
ब्रुसेलोसिस मुख्यगरी गाई, भेडा, बाख्राजस्ता जीवजन्तु र पशुमा भेटिने ब्याक्टेरिया हो । यसरी संक्रमित जनावरको सम्पर्कमा पुगेपछि यो मानिसमा पनि सर्छ । संक्रमित पशुको मासु वा दुध खाँदा समेत सर्ने सम्भावना हुने वैज्ञानिकहरू बताउँछन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार दुध र पनीरबाट यो ब्याक्टेरिया अत्यधिक तिव्र गतिमा सरिरहेको छ । तर मानिसले मानिसलाई सार्ने सम्भावना केही कम हुन्छ । चीन मात्र नभइ अन्य देशका केही स्थानमा समेत यो संक्रमण देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
यसको लक्षण पनि केही हदसम्म कोरोनाभाइरस जस्तै छ । उच्च ज्वरो आउने, पसिना निस्किने, टाउको दुख्ने, भोक नलाग्ने जस्ता लक्षण देखिन्छन् । तौल घट्ने, मांशपेशी दुख्ने जस्ता लक्षण पनि देखिन सक्छन् ।
तर ब्याक्टेरियाको कआक्रमण भइसकेपछि पनि यस्ता लक्षण देखिन एक सातादेखि दुई महिनासम्म लाग्न सक्छ । हालसम्मको अध्ययन अनुसार कसैकसैमा अण्डकोष, मुटु र कलेजोसमेत सुन्निन सक्छ । थकान र डिप्रेसन पनि यसका लक्षण हुन् ।
यसले बाँझोपनसम्मको अवस्था ल्याउन सक्ने चिकित्सक बताउँछन् । यसको परीक्षणमा समय नलाग्ने भए पनि अहिले चीनमा बढ्दो दरमा महामारीकैै रूपमा फैलन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाइएको बताइएको छ ।
(एजेन्सी)







