२२ चैत्र, सुनसरी । नेपाल वेयर हाउजिङ कम्पनीले सुनसरीमा १५ हजार टन क्षमताको खाद्यान्न भण्डारण सञ्चालनमा ल्याएको छ। आइतबारदेखि सो भण्डारण सञ्चालनमा ल्याइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत जयमुकुन्द खनालले बताए।
उनका अनुसार भण्डार गृह ५५ हजार मेट्रिक टन क्षमताको तीन वटा साइलोको (फलामले बनाइएको गोदाम) छ। कम्पनीले साइलो चाइनाको फ्यान्सन इञ्जिनियरिङ कम्पनीबाट ल्याएको हो।
उत्पादनले बजार पाउने निश्चित भएपछि मात्रै किसानहरू खेतीमा आकर्षित हुने भएकाले भण्डार निर्माण परियोजना सुरू गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत खनाल बताउँछन्।
व्यवस्थित भण्डार नहुँदा किसानहरूले मौसमी उत्पादन तत्काल बेच्नुपर्ने बाध्यता छ। यही कारण उनीहरूले चाहेको मूल्यमा बिक्री गर्न पाउँदैनन्। भण्डार बनिसकेपछि भने किसानले आफ्नो उत्पादन भण्डारण गरेर मूल्य पाएको समयमा बेच्न सक्छन्। यस्ता भण्डार प्रत्येक जिल्लामा हुँदा कृषि प्रशोधन उद्योग पनि फस्टाउने उनको भनाइ छ।
यो भण्डार अन्यभन्दा फरक छ। भण्डारण गर्दा किसानले प्रतिकिलो प्रतिमहिना पचास पैसा शुल्क बुझाउनु पर्नेछ। उक्त शुल्क तिर्ने समय भने किसान र कम्पनीको समझदारीमा तय गरिनेछ। भण्डारणमा किसानले सामान ल्याएर छाडेपछि रसिद पाउँछन्। रसिदका आधारमा किसानलाई ऋणको समेत व्यवस्था गरिने उनले बताए।
गोदाममा राखेको सामानको आधारमा किसानलाई ऋण दिन नेपाल राष्ट्र बैंकले अन्य वित्तीय क्षेत्रलाई निर्देशन दिए सहज हुने उनी बताउँछन्। बैंक तथा वित्तीय संस्थालाई कृषिमा लगानी गर्न यो माध्यम सहज हुने उनको भनाइ छ।
खनालका अनुसार नेप्सेमा जस्तै कृषि सामग्रीको अधिकतम मूल्य, न्यूनतम मूल्य, औसत मूल्य तथा कारोबारको मात्रा समेत वेबसाइटबाट थाहा पाउन सकिन्छ। वेबसाइट छिट्टै डिजाइनको काम भइरहेको उनले जानकारी दिए। त्यसबाहेक भण्डारण गरिएको सामानको बीमा पनि गरिनेछ। अप्रत्याशित रूपमा केही घटनाले क्षति भएमा सामानको मूल्य किसानले पाउने छन्।







