असोज ७, काठमाडौं ।
संयुक्त राष्ट्र संघ महासभामा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले गरेको टिप्पणीमाथि भारतले आपत्ति जनाएको छ । भारतले कश्मीरको स्वतन्त्र राज्यको अस्तित्व समाप्त पारको विषयप्रति एर्दोगानले आफ्नो विचार राखेका थिए ।
राष्ट्रपति एर्दोगानले महासभालाई सम्बोधन गर्ने क्रममा कश्मीर संघर्ष दक्षिण एसियामा शान्ति र स्थिरताका लागि महत्वपूर्ण रहेको बताएका थिए । यो ज्वलन्त मुद्दा भएको स्पष्ट पार्दै उनले भारत प्रशासित कश्मिरको विशेष राज्यको दर्जा समाप्त भएपछि स्थिति अझ जटिल बनेको उनको भनाइ थियो ।
कश्मिर विवादको समाधान राष्ट्रसंघको प्रस्ताव र कश्मीरका नागरिकको चाहना अनुसार हुनुपर्ने उनको विचार थियो । यसै विषयमा भारतले आपत्ति जनाएको हो ।
एर्दोगानको यो भनाइलाई लिएर राष्ट्रसंघका लागि भारतीय राजदूत टिएस त्रिमूर्तिले ट्विटरमार्फत आपत्ति जनाएका छन् । उनले एर्दोगानको भनाइ सुनेको भन्दै उल्लेख गरेका छन्, ‘यो भारतको नितान्त आन्तरिक मामिला हो र यसमा हस्तक्षेप बिल्कुलै स्वीकार्य हुँदैन । टर्किले अरु देशको सार्वभौमसत्तालाई सम्मान गर्न सिकोस् र आफ्ना नीतिमाथि ध्यान देओस् ।’
भारतले गत वर्ष अगस्ट ५ मा कश्मिरको विशेष अधिकार खोसेर उक्त राज्यलाई दुई केन्द्र शासित प्रदेशमा विभाजन गरेको थियो ।
(एजेन्सी)







