बैतडीमा स्थानीयद्वारा विद्युत सामग्रीको चरम दुरुपयोग

२९ चैत्र, बैतडी । बैतडीका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत विस्तार हुन नसक्दा त्यहाँका बासिन्दाहरु अन्धकारमा बस्नुपरेको बारे सबै निकाय जानकार नै छन् ।

केही ग्रामिण क्षेत्रमा बिद्युत तार र खम्बा अपुग हुदाँ विजुली बल्न सकेको छैन् । तर, कतिपय ठाउँमा भने पुगाएका विद्युत खम्बा र तारहरुको चरम दुरुपयोग भएको पाइन्छ । 

जिल्लाको सिगास गाउँपालिका वडा न. ७ न्वाघरमा एक किसानको खेतबारीमा विद्युत तारहरुले बार लगाइएको छ । 

स्थानीय किसान रामसिंह साउदले आफ्नो २ रोपनी खेतमा उक्त विद्युत तारहरुहरुको बार लगाएका हुन् । सो क्षेत्र मुख्य बाटो छेउमै पर्ने भएकाले आवजजावत गर्ने सबैले तारको दुरुपयोग प्रष्ट देख्छन् तर कोही बोल्दैनन् । 

खेतको बार मात्रै नभई आल्मोनियनका विद्युत तारहरुबाट आरन व्यवसायीहरुले कराई, मान्द्रो, ताप्के, ढकेरा जस्ता भाडाकुडा बनाउने गर्दछन् । सिगास ४मा गडतोलामा बस्ने करिब १ दर्जन आरन व्यवसायीले उक्त सामग्रीको दुरुपयोग गरेको स्थानीय सुरेन्द्र साउदले बताए । 

उक्त तार स्थानीयतह हुनु पुर्व नै वैकल्पीक उर्जा प्रर्वधन केन्द्रले न्वाघरीगाड लघु जलविद्युत आयोजनाका लागि आएको हो ।

उक्त जलविद्युत अहिले पुर्ण रुपमा बन्द भैसकेको छ । उक्त विद्युत सञ्चालनका बखत प्रयोग भएका काठका खम्बाहरु ५बर्षमै कुहिएपछी तारको स्थानीयबासीले भाडाँकुडा बनाउनुका साथै खेतबारीमा प्रयोग गरेका हुन् ।