चुनावी तालमेलको असरः असन्तुष्ट फकाउनै गाह्रो

११ वैशाख, काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरको नेतृत्वका आकांक्षी थिए– नन्दलाल वैश्य । उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालगञ्जको मेयरको तयारी गर्न निर्देश पनि गरेका थिए । सोही अनुसार उनले नेपालगञ्ज बजार क्षेत्रमा एक महिना अगाडि देखि नै आफ्नो चुनावी प्रचार सामाग्रीहरु सडक आसपासमा टाँगेका थिए ।

तर, पाँच दलीय सत्तागठबन्धनले नेपालगञ्जको मेयर कांगेसले पाउने गरी भागवण्डा गरेपछि वैश्य रुष्ट भए । मेयर नपाउने भएपछि उनी माओवादी छाडेर राप्रपा प्रवेश गरे ।

यस्तो उदाहरण देशका अन्य बिभिन्न पालिकाहरुमा समेत देखा परेको छ । गठबन्धनप्रति तीव्र असन्तुष्टि जनाएका नेपाली कांग्रेसको कैलाली जिल्लाका ९१ जनाले नेता–कार्यकर्ताले सामूहिक राजीनामा नै दिए । धनगढी उप–महानगरपालिका वडा नम्बर १८ का वडा समिति सभापति भक्तबहादुर थापासहितका क्रियाशील सदस्यहरूले पार्टी त्यागेको घोषणा गरेका हुन् ।

पार्टी परित्याग गर्नेहरुमा कांग्रेस कैलालीका पूर्वजिल्ला सदस्य लक्ष्मीप्रसाद देवकोटा, पूर्वक्षेत्रीय उपसभापति कुम्भराज गिरी, पूर्ववडाध्यक्ष सालीभान खड्का लगायत रहेका छन् । कैलालीमा मात्रै होईन,जनकपुरमा पनि काँग्रेस कार्यकर्ताहरुले पार्टी छाड्ने चेतावनी दिएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदको उम्मेदवारी गठबन्धन दल जसपाले पाएपछि असन्तुष्ट नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिने तयारी गरेका हुन् । भरतपुर महानगरका २९ वटै वडा समितिका सभापतिहरुले महानगरको मेयर नछोड्न जिल्ला नेतृत्वलाई दबाब दिँदै अन्यथा पार्टी छाड्ने चेतावनी दिएका थिए । उक्त स्थानमामा ओवादी केन्द्रलाई मेयर दिने सत्तागठबन्धनको सहमति छ ।

पोखरा र अन्य उपमहानगरपालिकामा पनि कांग्रेसले नेतृत्व नपाएको भन्दै नेता कार्यकर्ताहरुको असन्तुष्टि बढेको देखिन्छ । तर, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल सत्तागठबन्धन जोगाएर लैजानुको विकल्पन भएको भन्दै सबै कार्यकर्तालाई फकाइरहेका छन् ।

‘यो गठबन्धन परिवर्तनका लागि हो, परिवर्तनलाई बचाउनका लागि हो । यो परिवर्तनलाई जोगाउनका लागि हो । गठबन्धनका सदस्यहरूले आ–आफ्नो हैसियत, दायित्व बुझेर स्थानीय निर्वाचित र आउँदा चुनाव पनि सफल पार्नका लागि एकताबद्ध भएर जानुपर्छ, नेता पौडेलले भनेका छन् ।

उनले गठबन्धनको विरुद्धमा भन्दा पनि केपी ओलीको विरुद्धमा एक हुनुपर्ने बताएका छन् । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता वालकृष्ण खाँड पनि गठबन्धनको निर्णयविरुद्ध लाग्ने जोकोहीलाई पनिकारवाहीहुने बताउँछन् । ‘गठबन्धनको निर्णयविरुद्ध लाग्नेहरूलाई पार्टीले कारबाही गर्छ, तसर्थ पार्टी केन्द्रको निर्णय अनुसार नै चुनावमा खटिनुस्, नेपाली कांग्रेसको विजय सुनिश्चित छ,’ मन्त्री खाँडले भने ।