१२ वैशाख, काठमाडौं । ३० बैशाखको स्थानीय तहको चुनावका लागि मनोनयनको पहिलो दिन आज (आइतबार) कुनै पनि ठूला दलको तर्फबाट कतै पनि उम्मेदवारी दर्ता भएन् ।
आइतबार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी उम्मेदवार चयन गर्नमै ब्यस्त रहे ।
पाँच दलीय गठबन्धनमा रहेका दलहरु भागवण्डामा केन्द्रीत हुँदा एमालेले पनि उम्मेदवारी दर्ता गरेनन् । एउटालाई टिकट दिँदा अर्कोले दल त्याग गरेर अर्को दल प्रवेश गरेर टिकट लिने प्रवृति र बागी उम्मेदवारी रोक्नका लागि पहिलो दिन उम्मेदवारी दर्ता नगरिएको ठूला दलका नेताहरु बताउँछन् ।
यही कारण आइतबार मनोनयनको पहिलो दिन स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालय सुनसान बनेको निर्वाचन अधिकृतहरु बताउँछन् । उम्मेदवारी दिने प्रयोजनका लागि कार्यालयबाट उम्मेदवारी फर्म लगे पनि दर्ता गर्न राजनीतिक दल नगएपछि निर्वाचन अधिकृतको कार्यालय सुनसान बनेका हुन् ।
तथापि, देशका बिभिन्न पालिकाहरुम साना दलहरुले भने उम्मेदवारी दर्ता गरेका छन् ।
निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिकामा साना र स्वतन्त्र दलहरुको तर्फबाट मेयरमा १६ जना र उपमेयरमा १७ जनाको उम्मेदवारी परेको छ ।
राष्ट्रिय यथार्थवादी पार्टीका आनन्द राज जोशी, बिबेकशिल साझा पार्टीका समीक्षा बास्कोटा, आधुनिक नेपाल समाजवादी पार्टीका सुरेशरत्न बज्राचार्य, नेपाल समावेशी पार्टीका रामबहादुर खड्का, मंगोल नेशनल अर्गनाइजेशन पार्टीका सीता तामाङ, मौलिक जरोकिलो पार्टीका मनोजराज आचार्यले मेयरमा उम्मेदवारी दिएका छन् ।
स्वतन्त्र उम्मेदवारका रुपमा राजन कार्की, बालेन्द्र शाह, ज्ञानु लामा तामाङ, सुमन सायमी, अमोट महर्जन, विपिनराज बैद्य, सुर्य थापाश्रेष्ठ (महिला), डिल्लीराम राजभण्डारी र जेठा महर्जनले मेयरमा उम्मेदवारी दर्ता गरेका छन् ।
यस्तै, पोखरा महानगरपालिको मेयरमा ११ जना र उपमेयरमा ४ जनाको उम्मेदवारी परेको छ ।
पहिलो दिन पोखराको नेतृत्वका लागि उम्मेदवारी दिनेहरुमा राजनीतिक दलबाट भन्दा स्वतन्त्र उम्मेदवार धेरै छन् । पार्टीबाट ५ र स्वतन्त्र ६ जनाले उम्मेद्वारी दिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मेयरका लागि राप्रपाबाट गोविन्द गुरुङ, नेपाल जनता दलबाट मुक्तिराम सुवेदी, मौलिक जरोकीलो पार्टीका संजय तिमिल्सीना, मंगोल नेशनल अर्गनाइजेशनबाट प्रेमप्रसाद गुरुङ र सचेत नेपाली पार्टीबाट भोजराज खनालले मनोनयन दर्ता गराएका हुन् ।
स्वतन्त्रबाट खड्कराज पौडेल (गनेश), किशानसिंह गुरुङ, नवराज बास्तोला, विमलबहादुर कार्की, रामराज अधिकारी र डिलबहादुर गुरुङले उम्मेदवारी दर्ता गरेका छन् । पहिलो दिन पोखरामा पनि ठूला पार्टीहरुले उम्मेदवारी दर्ता गरेका छैनन् ।
जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि ८ जनाले उम्मेदवारी परेको छ । दुई जना राजनीतिक दलबाट र ६ जनाले स्वतन्त्र उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जनमत पार्टीबाट अनिता साह र नेकपा मालेबाट गीताकुमारी मण्डलले मेयर पदमा उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवारी दिनेहरुमा सुधिरकुमार महतो, अनिल पंजियार, विक्की यादव, लक्ष्मण साह, श्यामकिशोर मण्डल र रामसेवक यादव छन् ।
भागवण्डा टुंगिनै बाँकी !
पाँच दलीय सत्तागठबन्धनका बीचमा भागवण्डा नमिल्दा उम्मेदवार चयनमै समस्या भएको छ । सहमति भएका ठाउँहरुमा पनि तोड्ने अभ्यास सुरु भएको छ ।
ललितपुर जिल्लाका स्थानीय तहमा आफ्नो सम्मानजनक उपस्थिति नभएको भन्दै नेकपा एकीकृत समाजवादीले छुट्टै उम्मेदवारी दर्ता गराएको छ ।
महालक्ष्मी नगरपालिका र महाकाल गाउँपालिको नेतृत्वमा दाबी गर्दै आएको एकीकृत समाजवादीले गठबन्धनको भागवण्डामा नपाएपछि ललितपुर महानगरपालिकामा छुट्टै उम्मेदवारी दर्ता गरेको हो ।
एकीकृत समाजवादीले ललितपुरको मेयरमा हरिकृष्ण थापा र उपमेयरमा उषा बज्राचार्यलाई उम्मेदवार बनाएको छ । दुबैले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरे ।
यसैगरी, बुटवल उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनकै घटक जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धनबाट भन्दा बाहिरबाट उम्मेदवारी दर्ता गरेको छ । जसपाको तर्फबाट मेयर पदका लागि सुरज हिताङ र उपमेयरमा सम्झना पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।
भरतपुर महानगरपालिका र पोखरा महानगरपालिकामा पनि कांग्रेसका नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन् ।
सोमबार बढी मनोनयन
निर्वाचन आयोगले यस पटक दुई दिन मनोनयन दर्ताका लागि समय छुट्याएको थियो ।
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार दुई दिन समय मनोनयनका लागि छुट्याउँदा राजनीतिक दल, उम्मेदवार र आयोगलाई समेत सहज हुने अनुमान गरिएको थियो ।
तर, सोचे अनुसार पहिलो दिन ठूला राजनीतिक दलहरुको तर्फबाट उम्मेदवारी दर्ता नभएको आयोगका अधिकारीहरु बताउँछन् ।
‘स्वभाविक रुपमा सोमबार मनोनयन दर्ता सोमबार हुने भयो’ एक आयुक्त भन्छन, ‘एकै दिन मनोनयन दर्ताको समय राख्दा जुन प्रेसर विगतमा महसुस भएको थियो त्यो यसपटक कम हुन्छ । तर, पहिलो दिनको मनोनयन दर्तालाई हेर्दा सोमबार अलि बढी नै प्रेसर हुने देखिन्छ ।’
सोमबार बिहान ११ बजेदेखि साँझ पाँच बजेसम्म उम्मेदवारी दर्ताको समय छ । ठूला दलहरुको उम्मेदवारी दर्ता नभएकाले सोमबार बढी प्रेसर हुने आयोगले महसुस गरेको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलका अनुसार स्थानीय तहमा धेरै संख्यामा उम्मेदवारी दिने भएकाले भीडभाड नहोस् भन्नका लागि दुई दिनको समय उपलब्ध गराउने निर्णय गरिएको थियो । तर, पहिलो दिन सोचे अनुसार सहज हुने गरी उम्मेदवारी दर्ता नभएकाले सोमबार प्रेस हुने महसुस गरिएको हो ।
निर्वाचन कार्यक्रम अनुसार सोमबार नै उम्मेदवारहरुको नामावलीको सूचि प्रकाशित गर्नुपर्ने हुन्छ । मंगलबार दावी विरोधको समय निर्धारण गरिएको छ । बुधबार र बिहीबार दावीविरोध उपर जाँचबुझ गर्ने र शुक्रबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । आयोगका अनुसार १७ गते शनिवार उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।







