१९ वैशाख, काठमाडौं । पाँच दलीय सत्तागठबन्धनले शुक्रबार एकाबिहानै गठबन्धनको निर्णय विपरित स्थानीय तहको बिभिन्न पदमा उम्मेदवारी दिएका विद्रोही उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देश ग¥यो ।
प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तागठबन्धनका शीर्ष नेताहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेल सहभागी बैठकले बागी उम्मेदवारी तत्कालन फिर्ता लिन नेता÷कार्यकर्तालाई निर्देश ग¥यो ।
केन्द्रबाट भएको सहमति विपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारी फिर्ता नलिए सम्बन्धित दलले कारबाही गर्ने निर्णय पनि बैठकले ग¥यो । साथसाथै पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलहरुसँग भएको तालमेल तत्काल खारेज गर्ने निर्णय पनि बैठकले ग¥यो ।
तर, एकाबिहानै सत्तागठबन्धनको निर्णय पुर्णत कार्यान्वयन भएन । सत्तागठबन्धन बाहिर भएको तालमेल पनि कायमै रह्यो ।
बाजुराको बुढीनन्दा, प्युठानको झिमरुक, सिन्धुपाल्चोकको सुनकोशी लगायत केही पालिकामा एमाले– माओवादी तालमेल कायमै रह्यो । झापाको कचनकबल र रोल्पाको माडीमा एमाले–कांग्रेस तालमेल जिवितै छ । सिन्धुपाल्चोकको मेलम्चीमा कांग्रेस– राप्रपा तालमेल, दमकमा गठबन्धन र राप्रपा तालमेल रह्यो ।
जबकी आमरुपमा गठबन्धनबाहिर तालमेल गर्न नपाउने सत्तागठबन्धनको निर्णय छ । गठबन्धनका शीर्ष नेताहरुले भने जस्तो अधिकांश ठाउँमा बागी उम्मेदवार फिर्ता भएन ।
चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको भोट काट्न उठेका विद्रोही उम्मेदवार जगन्नाथ पौडलको मेयरमा दर्ता भएको उम्मेद्वारी भने फिर्ता भएन । कांगे्रसका असन्तुष्ट पक्षबाट पूर्वसांसद समेत रहेका नेता पौडलको मेयरमा उम्मेदवारी दिएपछि फिर्ता गराउन कांग्रेसका शीर्ष नेताहरु नै लागि परे ।
गृहमन्त्री बालकृष्ण खाँडदेखि माओवादी अध्यक्ष प्रचण्डको चितवन दौडधुप केहीदिन देखि चल्यो । बहालवाला अन्य मन्त्रीहरु पनि चितवन गए । तर, पौडलले उम्मेदवारी फिर्ता लिएनन् ।
उम्मेदवारी फिर्ता नलिएपछि पौडेललाई कांग्रेसले पार्टीबाटै निष्कासन गरेको छ । पौडेल जस्ता अन्य बरु बागी र विद्रोही उम्मेदवारहरुलाई दलहरुले पार्टीबाट निष्कासित गरे ।
कांग्रेस प्रवक्ता डा. प्रकाशरण महत देशभर उम्मेदवार चयन गर्दा विवाद र असन्तुष्टि देखिए पनि काठमाडौंमा एकमत रहेको दाबी गर्छन । उनी भन्छन् ‘अन्यत्र गठबन्धनबाट साझा उम्मेदवार तय गर्दा विवाद भएका छन् तर, काठमाडौंमा कुनै विवाद भएन, एकमत रह्यो ।’
कुनै विवाद नभएकाले १५ वैशाखमा महानगरका मेयर उम्मेदवार सिर्जना सिंहले संकल्प प्रस्ताव सार्वजनिक गर्ने कार्यक्रममा सत्तागठबन्धनका कमिटी स्तरीय नेताहरु सहभागि भएका थिए । सौहार्द वातावरण भएकैले २३ गते शीर्ष नेताहरुले सम्बोधन गर्ने गरी संयुक्त चुनावी सभा गर्ने तय भएको छ ।
काठमाडौं बाहिर आवश्यकताको आधारमा स्थानीय, जिल्ला र प्रदेश कमिटीले संयुक्त चुनावी सभा गर्नु उपयुक्त हुने निचोडमा पुगिएकाले संयुक्त चुनावी सभाको कार्यतालिका संशोधन गरिएको डा. महत बताउँछन् ।
आंशिक सफलता
गठबन्धनमा रहेका दलहरुमा सबैभन्दा बढी कांग्रेसका स्थानीय नेता कार्यकर्ताले बागी उम्मेद्वारी दिएका छन् ।
नेताहरुका अनुसार दुई सय भन्दा बढी कांग्रेसका बागी उम्मेदवार देशभर छन् भने माओवादी केन्द्रको देशभर २० जना वरिपरी बागी उम्मेदवार छन् । बागी उम्मेदवारी फिर्ता गराउन केन्द्रीय नेतृत्वले गरेको प्रयास केही ठाउँमा भने सफल भएको छ ।
उम्मेदवारी फिर्ता लिने अन्तिम दिन १६ वैशाख २०७९ मा कांग्रेस केन्द्रीय कार्यालयबाट विज्ञप्ती निकालेर विद्रोही उम्मेदवारले उम्मेदवारी फिर्ता नलिए उम्मेदवार, नीजको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्काशित हुने निर्देशन जारी भएको थियो ।
शुक्रबार नै बसेको सत्तागठबन्धनको बैठकले गठबन्धनका उम्मेदवारविरुद्ध परेका बागी उम्मेदवारीलाई तत्काल फिर्ता गराउन निर्देशन दियो । केन्द्रीय नेताहरुको तारन्तनरको निर्देशनपछि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका अमानसिंह तामाङले उम्मेदवारी फिर्ता लिए ।
माओवादी केन्द्रले काठमाडौंको चन्द्रागिरि नगरपालिकाको मेयर र उपमेयर दुवै पदबाट उम्मेदवारी फिर्ता लियो । सत्तागठबन्धनको केन्द्रीय निर्देशनपछि मेयर उम्मेदवार दिलबहादुर श्रेष्ठ र उपमेयर उम्मेदवार रुपा महर्जनले उम्मेदवारी फिर्ता लिएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) बाट बुटवल उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा उम्मेदवारी दिएका दुवै जनाले उम्मेदवारी फिर्ता लिए ।
५ दलीय गठबन्धनका उम्मेदवारलाई सघाउने गरी जसपाबाट मेयरमा उम्मेदवारी दिएका सुरज हितान मगर र उपमेयरमा उम्मेदवारी दिएका सम्झना पौडेलले मनोनयन फिर्ता गरेका हुन् ।
सत्तागठबन्धनको निर्देशनपछि रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा प्रमुख र उपप्रमुखको प्रतिस्पर्धाबाट एकीकृत समाजवादी पछि हटेको छ । नगर प्रमुखका उम्मेदवार पुस्तक चन्द र उपप्रमुखका उम्मेदवार सुशीला गिरीले आ–आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन् ।
लमजुङको दोर्दी गाउँपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई सघाउने भन्दै नेकपा एकीकृत समाजवादीले अध्यक्ष र उपाध्यक्ष दुवै पदबाट उम्मेदवारी फिर्ता लिए । एकीकृत समाजवादीबाट अध्यक्षका उम्मेदवार रनबहादुर घले र उपाध्यक्षकी उम्मेदवार उर्मिला कुँवरले उम्मेदवारी फिर्ता लिएका हुन् ।
माओवादी नेता तिलकराज भण्डारी पनि सत्तागठबन्धन आंशिक सफलता प्राप्त भएको बताए । स्थानीय तहमा केन्द्रबाट महानगर र उपमहानगरपालिकामा मात्रै चुनावी तालमेल भएको उनी बताउँछन् ।
बाँकी स्थानीय तहमा सम्बन्धित राजनीतिक दलका कमिटीहरुले नै प्रयास गरेको तर, कांग्रेसभित्रको आन्तरिक राजनीतिले सोचे जस्तो देशभर कांग्रेससहितको गठबन्धन बन्न नसकेको भण्डारीको बुझाई छ ।
‘कांग्रेसकै नेता÷कार्यकर्ताले केन्द्रीय निर्देशन लत्याए । कांग्रेसकै कारण देशभर कांग्रेससहितको चुनावी गठबन्धन बन्न सकेन । तथापि, कांग्रेसको मूल नेतृतव गठबन्धनको पक्षमा देखियो । यसकारण प्रतिगमनविरुद्धको लडाईंमा सफलता मिल्ने विश्वास माओवादी केन्द्रलाई छ ।’
राष्ट्रिय सभाको चुनावमा भएको तालमेल र स्थानीय तहमा भएको तालमेललाई ख्याल गरेर प्रदेश र संघको चुनावी तालमेलका विषयमा भने पार्टीहरुले गम्भीर भएर छलफल गर्नु नै पर्ने देखिएको उनी बताउँछन् । तर, यो समिक्षा स्थानीय तहको चुनावपछि मात्रै हुने नेता भण्डारीले बताए ।
‘गठबन्धनको नाममा अहम र घमण्ड पनि बढेको छ । इमानदारिताका नाममा खुम्चिने काम पनि भएको छ । भाग माग्ने नाममा हैसियतभन्दा बढी खोजेर प्रतिगमनकारीलाई नै फाइदा हुने वातावरण बन्न दिने कमजोरी पनि भएकै छ’ उनी भन्छन्, ‘तर, चुनाव अगाडि यी विषय गौण रहनेछन् ।’







