दोहोरो नीतिमा तालमेल : भयो पनि भएन पनि !

महानगर र उपमहानगरको भागवण्डा केन्द्रबाटै भयो, तालमेल छैन कसरी भन्ने ! छ भन्दा कांग्रेसले एक्लै ६५० तहको नेतृत्वमा उम्मेद्वारी दिएको छ । अपेक्षित रुपमा बागी उम्मेदवारको मनोनयन पनि फिर्ता भएन ।

१९ वैशाख, काठमाडाैँ । आइतबार नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय चुनावमा तालमेल सफल भएको दाबी गरे ।

‘धेरैलाई लागेको थियो यो तालमेल सफल हुन सक्दैन, ठूलो विद्रोह हुन्छ । तर त्यस्तो अवस्था आएन’ निर्वाचन प्रचार प्रसार समितिले गरेको पत्रकार सम्मेलनमा महतले भने ।

तर, महतले भने जस्तो अवस्था ठ्याक्कै नरहेको नेताहरु बताउँछन् ।

निर्वाचन आयोगका अनुसार स्थानीय तहका बिभिन्न पदमा मनोनयन दर्ता गरेका करिव आठ हजारले उम्मेद्वारी फिर्ता लिए ।

तर, पाँच दलीय गठबन्धनको भागवण्डाप्रति असन्तुष्ट भएर मनोनयन गरेका अधिकांश विद्रोही उम्मेदवारले भने उम्मेदवारी फिर्ता लिएनन् ।

गठबन्धनका नेताहरु अथक प्रयास गर्दा पनि विद्रोही उम्मेदवारहरु मनोनयन फिर्ता हुन नसकेको स्वीकार्छन । यसको पछाडि सत्तारुढ गठबन्धनमा रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको दोहोरो नीति जिम्मेवार रहेको नेताहरुको बुझाई छ ।

माओवादी नेता बर्षमान पुनका अनुसार कांग्रेसको मूल नेतृत्व गठबन्धनप्रति प्रतिबद्ध रहेको, तर मूल नेतृत्व पछिको नेतृत्वले दोहोरो नीति लिएका कारण देशभर गठबन्धन साचे जस्तो गरी चुनावमा जान सकेन ।

नाम नलिएरै नेता पुन कांग्रेसका नेता डा. शशांक कोइराला र महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माको व्यवहारले देशभर सत्तागठबन्धन एकै रहने स्थिति बनेन् । ‘देशभर सत्तागठबन्धन एक भएर जाने सोच थियो । तर, कांग्रेसकै शीर्ष नेताहरुमध्येकै केहीले दोहोरो नीति लिए । गठबन्धनको बैठकमा मिलेर जाउँ भन्ने कार्यकर्तालाई गएर उचाल्ने’ नेता पुन थप्छन्, ‘कांग्रेसका केही नेताको दोहोरो नीतिका बाबजुत आंसिक असफलता मिलेको छ ।’

आंसिक असफलता अन्तर्गत महानगर र उपमहानगरको भागवण्डा केन्द्रबाट हुनु र कतिपय स्थानीय तहमा सत्तागठबन्धन एक रहनु रहेको उनको भनाइ छ । कम्तिमा प्रतिगमनकारीसँग देशभर ठूलो दलले चुनावी तालमेल गरेनन् । यो संविधान, गणतन्त्र र लोकतन्त्रको रक्षाको लडाइंको पनि सफलता हो’ नेता पुनले भने ।

कांग्रेसका नेताहरुकै दोहोरो नीतिका कारण कांग्रेसबाट सबैभन्दा धेरै बागी उम्मेदवार तयार भएको र मनोनयन दर्ता फिर्ता हुन नसकेको माओवादी केन्द्र र एकीकृत समाजवादी लगायत सत्तागठबन्धनमा रहेका नेताहरुको बुझाई छ ।

माओवादी नेता लेखनाथ न्यौपाने भन्छन्, ‘चितवनको भरतपुरमा गठबन्धनले भागवण्डाको निर्णय लिँदा त्यस्तो विवाद थिएन् । तर, कांग्रेसकै नेताहरुले उचालेर विद्रोही उम्मेद््वार खडा गरे । पछि फिर्ताको प्रयास त भयो तर त्यसलाई उम्मेद्वारले इगोका रुपमा लिए, मनोनायन दर्ता फिर्ता भएन ।’

नेपाली कांग्रेसले ७५३ पालिकामध्ये ६५० स्थानीय तहको प्रमुखमा उम्मेदवारी दर्ता गरेको छ । जसमा दुई सय बढी विद्रोही उम्मेदवार रहेको कांग्रेसकै आन्तरिक तथ्याङ्क छ । कांग्रेसले विद्रोही उम्मेदवारको मनोनयन फिर्ता नभए स्वत पार्टीबाट निष्काशित हुने भनेर विज्ञप्ती निकालेको भएपनि विज्ञप्ती अनुसार सर्कुलर जारी गरेन् ।

चितवनको भरतपुर लगायत केही ठाउँमा विद्रोही उम्मेद्वारी फिर्ताको प्रयास भएपनि देशभर खास पहल कांग्रेस नेतृत्वबाट भएन । परिणाममा कांग्रेसका तर्फबाट ठुलो संख्यामा स्वतन्त्र उम्मेद्वार छन् । स्वतन्त्र उम्मेदवार आंकलन भन्दा बढी परेको भन्दै निर्वाचन आयोगले नै कतिपय जिल्लाका लागि पुनःमतपत्र छपाइ गर्नुपर्ने बताएको छ ।

एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठ पनि सत्तागठबन्धनमा रहेको कांग्रेसमा अलि बढी अहम पैदा भएको बताउँछन् । यसका पछाडि केन्द्रीय नेताहरुको दोहोरो नीति मुख्य जिम्मेवार रहेको उनको निष्कर्ष छ । ‘वालुवाटारमा गठबन्धनमा भागवण्डा सबै मिल्छ । प्रदेश र जिल्लामा पुग्दा मिल्दैन’ नेता श्रेष्ठ थप्छन्, ‘कार्यकर्ता नमिलेर पनि कतिपय ठाउँमा गठबन्धन भएन । तर, मुख्यत वालुवाटारमा भागवण्डा गर्न तयार हुने प्रदेश र जिल्लाका नेताहरुलाई भेटेर उचाल्ने कांग्रेस प्रवृति समस्याका रुपमा रह्योे ।’

नेता श्रेष्ठको शब्दमा देशभर सत्तागठबन्धनको तालमेल छ पनि र छैन पनि । महानगर र उपमहानगरको भागवण्डा केन्द्रबाटै भएको छ तालमेल छैन कसरी भन्ने ! तालमेल छ भन्दा कांग्रेसले एक्लै ६५० तहको नेतृत्वमा उम्मेद्वारी दिएको छ । अपेक्षित रुपमा बागी उम्मेदवारको मनोनयन पनि फिर्ता भएन ।