भ्रष्टाचार आरोपितलाई कामु उपकुलपति बनाउने सरकारको तयारी

२० वैशाख, मकवानपुर । बागमती प्रदेश सरकारले भ्रष्टाचार गरेको आरोप लागेका व्यक्तिलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको कायममुकायम उपकुलपति बनाउने तयारी गरेको छ ।

गलत प्रतिवेदन पेश गरी भ्रष्टाचार गरेको मुद्दाका आरोप लागेका मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर सतिसकुमार देबलाई प्रदेश सरकारले कायममुकायम उपकुलपति बनाउने तयारी गरेको हो ।

देबलाई उक्त मुद्दामा विशेष अदालत काठमाडौँले सफाई दिएपनि सर्वाेच्च अदालतले झगडिया झिकाउने आदेश गरेको छ । तर सर्वाेच्चको यो आदेशसँगै उनी स्वतः निलम्बनमा पर्ने कानूनी ब्यवस्था भएपनि यस विपरीत अहिलेसम्म पदमै बहाल रहिरहेका छन् ।

मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म रेक्टर देबले कसुरबाट उन्मुक्ति नपाउने कानूनका जानकार बताउँछन् ।