२५ वैशाख, काठमाडौं । पाँच दलीय सत्तागठबन्धन देशब्यापी चुनावी प्रचारमा छ । कतै एक्ला एक्लै त कतै संयुक्त चुनावी सभा गरिरहेका सत्ता गठबन्धनका स्थानीय कार्यकर्ता र शीर्ष नेतृत्वको अभिव्यक्तिमा फरकपन कायमै छ ।
गठबन्धन गरेर पनि ६५० स्थानीय तहको नेतृत्वमा उम्मेदवारी दिएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ४६४ स्थानीय तहको नेतृत्वमा उम्मेदवारी दिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिमा चेतावनीयुक्त भाषाको प्रयोग हुन थालेको छ ।
बिहीबार चितवनमा भएको संयुक्त सभालाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धनका तर्फबाट भरतपुर महानगर पालिकाको मेयरका उम्मेदवार रेनु दाहाल र उपमेयरका उम्मेदवार चित्रसेन अधिकारीले जित्नुपर्ने अन्यथा देश दुर्घटनामा जान सक्ने भनी नेता÷कार्यकर्तालाई चेतावनी दिए ।
प्रचण्डको अभिव्यक्तिका कारण कांग्रेस कार्यकर्ता बिच्किएको आंकलन कतिपय गरिरहेका बेला शुक्रबार काठमाडौंमा भएको संयुक्त सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले भरतपुरकै चर्चा गरे । उनले रेनु दाहाललाई उम्मेदवार बनाउन आफैँले प्रस्ताव गरेको भन्दै मतदानका लागि आग्रह गरे ।
शनिबार जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले गठबन्धनलाई अब पराजित हुने छुट नभएको जिकिर मात्रै गरेनन् सत्तारूढ गठबन्धनविरुद्ध बोल्ने पार्टीका नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिए ।
नेता÷कार्यकर्तालाई चेतावनी दिँदा देउवाले भगवानलाई सम्झिए । ‘यो भगवान राम–सीताको गठबन्धन भएको पवित्र ठाउँ हो । यहाँ हाम्रो गठबन्धन कमजोर हुँदैन । अहिले देशभरि गठबन्धनको पक्षमा यस्तो माहोल बनेको छ कि त्यो भनेर साध्य छैन,’ देउवाले भने ।
गठबन्धनभित्र रहेको असन्तुष्टीतर्फ इंकित गर्दै उनले भने, कतै कतै असन्तुष्टि होलान् तर हामी सबै अनुशासनमा बस्नुपर्छ। गठन्धनको विरोध सह्य हुँदैन । गठबन्धनविरुद्ध बोल्नेलाई पनि पार्टीले कारबाही गर्छ । धेरैलाई गरिरहेको पनि छ ।’
चितवनमा देखिएकाने समस्या समाधन भैसकेको उनको जिकिर छ । ‘गठबन्धनमा कहिँकतै समस्या छैन। चितवनमा अलि अलि समस्या देखिएको थियो तर अहिले सबैलाई हावा खाइसके । बागी बनेर पार्टीको झन्डा बोक्नेलाई कारबाही हुन्छ’ देउवाले भने ।
मतदानको दिन नजिकिँदै जाँदा सत्तागठबन्धनका शीर्ष नेताहरुबाट चेतावनीको भाषा प्रयोग हुनु साझा उम्मेदवारलाई भोट आउँदैन कि भन्ने त्रासको उपज भएको जानकारहरु बताउँछन् ।
शीर्ष नेताहरुबाट चेतावनीको भाषा प्रयोग हुनु र त्यसबाट कार्यकर्ता डराउने स्थिति बन्यो भने त्यो नेपालको दिर्घकालिन हीत बिपरित हुने बताउँछन राजनीतिक क्षेत्रका जानकारहरु ।
राजनीतिक विश्लेषक एवं अध्यापक विष्णु दाहाल भन्छन्, ‘नेता÷कार्यकर्तालाई विश्वासमा लिने भन्दा कारबाहीको चेतावनी दिने, विवेक प्रयोग आग्रह गर्नुको साटो पार्टीले भनेकैलाई भोट हाल्न दबाब दिने शैली गलत संस्कृतिको उपज हो ।’
अझ स्थानीय तहको निर्वाचनमा दलीय उम्मेदवार भन्दा योग्य उम्मेदवार जनताले खोज्ने भएकाले केन्द्रबाट हस्तक्षेप गरिनु वर्तमान व्यवस्थाकै विरुद्धमा रहेको उनको विश्लेषण छ ।
‘संघीयता शक्तिको विकेन्द्रीकरण हो । त्यो शक्ति भनेको राजनीतिक शक्ति पनि हो । राजनीतिक दलका तत निकायले तत निकायमै उम्मेदवार चयन गर्ने अधिकार संघीयतामा राख्नुपर्दथ्यो’ उनी थप्छन्, ‘केन्द्रबाटै उम्मेदवार तोक्नु र त्यसप्रति असन्तुष्टि जनाउँदा कारबाहीको चेतावनी दिनु व्यवस्थाकै विरुद्ध छ ।’
पाँच दलीय सत्तागठबन्धनले मुख्य मुख्य शहरमा गठबन्धन गरेका छन् ।
सहमति अनुसार कांग्रेसले सत्तागठबन्धनका तर्फबाट काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको मेयरका उम्मेदवारी दिएको छ । पोखरा महानगरपालिकाको नेतृत्वमा एकीकृत समाजवादीका उम्मेदवार छन् ।
माओवादी केन्द्रले भरतपुर महानगरपालिका र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको नेतृत्वमा उम्मेदवारी दिएको छ ।
११ मध्ये ७ वटा उपमहानगरपालिकाको नेतृत्वमा कांग्रेसका उम्मेदगवार छन् ।
सहमति अनुसार नेपालगञ्ज, धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरको मेयरमा कांग्रेसका उम्मेदवा् छन् ।
माओवादी केन्द्रका तर्फबाट जीतपुर सिमरा र घोराही गरी दुई उपमहानगरपालिकाको नेतृत्वमा उम्मेदवा् छन् । सत्तागठबन्धनका तर्फबाट हेटौंडा उपमहानगरमा एकीकृत समाजवादीका र जनकपुर उपमहानगरपालिकाको नेतृत्वमा जनता समाजवादी पार्टीका उम्मेदवार छन् ।







