२६ वैशाख, काठमाडौं । चुनाव प्रचारका लागि आज र भोलि (सोमबार र मंगलबार)को समय छ । भोलि मध्यराती १२ बजेदेखि मौन अवधि सुरु हुन्छ ।
मौन अवधि मतदाताका लागि उम्मेदवार छनोट गर्ने समय हो । यसकारण उनीहरुलाई प्रभाव पार्न राजनीतिक दलहरु निर्णायक दौडमा छन् । खासगरी पाँच दलीय गठबन्धन र नेकपा एमाले चुनावी मैदानमा प्रतिस्पर्धी देखिएका छन् । यो बेला शीर्ष नेताहरुको दौडाह उस्तै छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतका गठबन्धनका शीर्ष नेताहरु एकै दिन दर्जन कार्यक्रममा पुगिरहेका छन् । तीन वटा सम्म संयुक्त सभालाई सम्बोधन गरिरहेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी ओली लगायतका शीर्ष नेताहरुको दौडाह उस्तै छ । देशका बिभिन्न ठाउँमा पुगेर गठबन्धनको भन्दा आफ्ना उम्मेदवार सक्षम रहेको, आफ्नो पार्टीले चुनाव जितेमा विकासको लहर ल्याउने सपना देखाइरहेका छन् ।
निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त सुर्यप्रसाद श्रेष्ठ राजनीतिक दलहरुको निर्णायक दौडमा रहनु स्वभाविक ठान्छन् । ‘मतदातालाई प्रभाव पार्ने खास समय यही हो’ उनी थप्छन्, ‘यो बेला शीर्ष नेताहरु र उम्मेदवारले गर्ने व्यवहार र बोलीले ठूलो अर्थ राख्छ । उपस्थितिले मात्रै पनि मतदाता प्रभावित हुन्छन् ।’
नेकपा एमालेका संसदीय दलका नेता सुवास नेम्वाङ एमाले स्थानीय तहमा बहुमत ल्याउने गरी निर्णायक दौडमा रहेको बताउँछन् । नेम्वाङ भन्छन्, ‘हामी निर्णायक दौडमै छौं त्यो पनि जित्ने गरी । देशभर एमालेको पक्षमा देखा परेको लहर मतपेटिकामा खस्न मात्रै बाँकी छ ।’
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल संसद विघटन गरेर मुलुकमा अस्थिरता निम्त्याउनेलाई दण्डित गर्न नागरिकहरु आतुर रहेको दलिल गर्छन । नेता पौडेल भन्छन्, ‘छँदाखाँदाको बहुमतको सरकार चलाउन नसकेर संसद विघटन गरेर मुलुकलाई अस्थिरतातर्फ धकेल्ने शक्तिलाई मतदानबाटै आफैँ धकेल्न जनता आतुर छन् ।’
नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन संविधान र लोकतन्त्र बचाउनका लागि बनेको गठबन्धनका उम्मेदवारहरुलाई जनताले अनुमोदन गर्ने विश्वास राख्छन् ।
‘हाम्रो प्रयास मुलुकमा समावेशी समानुपातिक सहभागिता सहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बचाउने हो । यो विषय जनतामा पुगेको छ मतदानबाट फैसला हुने समय आएको छ’ नेता पुनले भने ।
यो पटक ठूला राजनीतिक दलहरुले स्थानीय तहको एजेण्डा भन्दा केन्द्रीत राजनीतिलाई नै प्राथमिकतामा राखेका छन् । स्थानीय स्तरमै उम्मेदवारहरुले चुनावी घोषणापत्र मार्फत विकास र समृद्धिका एजेण्डा अगाडि सारेकाा छन् । केन्द्रीय घोषणापत्रमा आफ्नो पार्टीले चुनाव जितेमा स्थानीय तहमा के कस्ता नीतिगत कार्य गर्ने विषय समावेश छ । तर, विपक्षी दलहरुको चरित्र विश्लेषण पनि प्राथमिकतामा परेको देखिन्छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल भन्छन्, ‘दलहरुले आफ्ना एजेण्डा जनतामा पु¥याएका छन् । मौन अवधिमा मतदाताले स्वतन्त्र रुपमा मतदानको निर्णय गर्ने समय हो । यो अवधिमा हुन सक्ने आचारसंहिता विपरितका कार्यप्रति आयोगले ख्याल गर्छ ।’
उनका अनुसार मौन अवधिमा कुनै प्रकारको प्रचार गर्न बन्देज लगाइएको छ । अन्र्तराष्ट्रिय नाकाहरु बन्द गरिनेछन् । सामाजिक संजालको प्रयोगमा पनि ख्याल गर्ने आयोगले जनाएको छ । मौन अवधिमा भित्रि रुपमा पैसाको प्रलोभन देखाउने प्रवृति विगतमा देखा परेकाले त्यसलाई पनि आयोगले नजिकबाट नियाल्ने गरी संयन्त्र विस्तार गरेको जनाएको छ । मतदाताको घर जान नै उम्मेदवारलाई रोक लगाइएको हुन्छ । कोही गएको अवस्थामा आयोगले आवश्यक छानविन गरी उम्मेदवारी रद्द गर्ने सम्मको अधिकार राख्ने प्रवक्ता पौडेल बताउँछन् ।







