१६ जेठ, काठमाडौं। पाँच दलीय सत्तागठबन्धनका शीर्ष नेताहरु आगामी सहकार्यका विषयमा छलफलमा जुटेका छन् । स्थानीय तहको चुनावको समीक्षा गर्न प्रधानमन्त्री निवास वालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले थप सहकार्यको वातावरण बनेको निचोड निकालेका छन् । साथसाथै, कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा सहमति कायम गरेर अघि बढ्न निर्वाचित पार्टीका जनप्रतिनिधिहरुलाई निर्देशन जारी गरेका छन् ।
सोहीअनुसार सम्बन्धित पार्टीहरुबाट नगर कार्यपालिका र जिल्ला समन्वय समितिको चुनावमा पनि गठबन्धनमा आवद्ध दलहरुबीच सहमति गरेर अघि बढ्न जिल्ला र प्रदेशलाई निर्देशन दिइएको छ ।
स्थानीय तहको चुनाव सम्पन्न भएसंगै राजनीतिक ध्रुविकरणबारे अनेक कोणबाट आशंकाहरु जन्मिरहेका बेला पाँच दलीय सत्तागठबन्धन शीर्ष नेताहरु आसन्न चुनावको तालमेलमा जुटेका हुन् । यसलाई नेताहरु सत्तागठबन्धन टिकाउने प्रयासको रुपमा अ¥थ्याउँछन् ।
स्वमं प्रधानमन्त्री शेरबहादुर देउवाले शीर्ष नेताहरु सम्मिलित बैठकमा आफुबाट गठबन्धनका दलहरुलाई धोका नहुने आश्वासन दिएर निरन्तर सहकार्यका लागि आग्रह गरेका छन् । खासगरी नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले स्थानीय चुनावमा तालमेल प्रभावकारी हुन नसकेको गुनासो गरिरहेका बेला देउवाले आफुबाट धोका नहुने बाचा गरेका छन् ।
सत्तारुढ पाँच दलले स्थानीय चुनावमा देशभर तालमेल गर्ने निर्णय गर्दै महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा केन्द्रीय स्तरबाटै गरेका थिए । तर कतिपय ठाउँमा तालमेल नै भएन भने तालमेल भएका पालिकाहरुमा समेत बागी उम्मेदवारी परेका कारण तालमेल भए अनुसार गठबन्धनमा रहेका कांग्रेस बाहेकका दलले जनप्रतिनिधिहरु जिताउन सकेनन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस स्वयंले तालमेलको पालना नगरेको भनी प्रश्न उठाएका थिए । नेपाल र यादवको प्रश्न आफुले पनि महसुस गरेको उल्लेख गर्दै देउवाले पार्टीभित्र मतभेद भएका कारण समस्या भएको स्वीकार गरे । आसन्न निर्वाचनर्फ इंकित गर्दै उनले भने, ‘तर हामी धोका दिन्नौं ।’
‘तर,स्थानीय चुनावमा भएको कमिकमजोरीबाट पाठ सिकेर आगामी दिनको सहकार्यलाई थप बलियो बनाउने गरी अघि बढ्नुपर्ने कुराकानी भयो’ माओवादी केन्द्र नेता नारायणकाजी श्रेष्ठले भने ।
नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल पनि सत्तारुढ दलबीचको गठबन्धन संघ र प्रदेशको निर्वाचनमा पनि कायमै रहने बताउँछिन् । एमालेले नयाँ गठबन्धन बनाउने प्रयास गर्नुलाई अन्यथा मान्न नसकिने तर, एमालेबाट विगतमा भएका निशेधका राजनीति, संसद विघटन गरेर मुलुकलाई अस्थिरतामा धकेल्न गरी भएको प्रयास र त्यसलाई सच्याउन मुलुकले खर्च गर्नु परेको समयलाई गठबन्धनमा रहेका दलहरुले राम्रोसँग बुझेको उनको भनाइ छ ।
स्थानीय तहको चुनाव सम्पन्न भएसंगै राजनीतिक ध्रुविकरणबारे अनेक कोणबाट आशंकाहरु जन्मिरहेका बेला पाँच दलीय सत्तागठबन्धन शीर्ष नेताहरु आसन्न चुनावको तालमेलमा जुटेका छन् । यसलाई नेताहरु गठबन्धन टिकाउने प्रयासको रुपमा अ¥थ्याउँछन् । स्थानीय चुनावमा भएको कमिकमजोरीबाट पाठ सिकेर आगामी दिनको सहकार्यलाई थप बलियो बनाउने गरी अघि बढ्नुपर्ने कुराकानी भयो ।
नारायणकाजी श्रेष्ठ
नेता, नेकपा माओवादी केन्द्र
सचेतक भुसाल कांग्रेस स्थानीय तहमा रहेको गठबन्धनलाई संघ र प्रदेशको निर्वाचनसम्म निरन्तरता दिने पक्षमा रहेको र सोही अनुसार गठबन्धनमा रहेका दलहरुका बीचमा विश्वास कायम रहेको उनी बताउँछिन् ।
स्थानीय निर्वाचनमा जस्तै अहिलेको गठबन्धनलाई प्रदेश र केन्द्रको निर्वाचनमा समेत अगाडि बढाउने कुरामा हाम्रो पार्टी दृढ छ ।
पुष्पा भुसाल
सचेतक, नेपाली कांग्रेस
‘स्थानीय चुनावमा जुन जीत हात परेको छ, त्यसबाट आमजनताको कांग्रेस प्रतिको आस्था, विश्वास बढेको महशुस गरेका छौँ । यसकारण कांग्रेसको काँधमा जिम्मेवारी थपिएको छ । र यही निर्वाचनमा जस्तै अहिलेको गठबन्धनलाई भोलिको दिनमा प्रदेश र केन्द्रको निर्वाचनमा समेत अगाडि बढाउने कुरामा हाम्रो पार्टी दृढ छ’ उनले भनिन् ।







