पोखरा विमानस्थलमा इन्धन भर्न गएको ट्यांकर पल्टियो, उडान अवरुद्ध

१७ जेठ, काठमाडौं । पोखरा विमानस्थलमा जहाजमा तेल हाल्ने ‘रिफ्युलर’ गाडी पल्टिँदा उडान अवरुद्ध भएको छ ।

मंगलबार बिहान बुद्ध एयरका लागि तेल हाल्न जानेक्रममा विमानस्थलमै ‘रिफ्युलर’ गाडी पल्टिएको हो ।

आयल निगमको डिपोबाट विमानस्थल आउने क्रममा विमानस्थल परिसरभित्र हवाईजहाजमा इन्धन भर्ने ट्यांकर गाडी पल्टिएको पोखरा विमानस्थल स्रोतले जनाएको छ ।

ट्यांकर पल्टिदा पोखरामा हुने बिहानका उडानहरू अवरुद्ध भएका हुन् । अहिले क्रेनले पल्टेको ट्यांकर उठाउने र तेल पोखिएको स्थानमा सफा गर्ने काम भइरहेको बताइएको छ ।