पशुपन्छी औषधी व्यवसायी तालिम सञ्चालन कार्य प्रक्रिया २०७९ प्रति भेटेरिनरी एशोसिएसनकाे गम्भीर ध्यानाकर्षण

२० जेठ, काठमाडाैँ । नेपाल भेटेरिनरी एशोसिएसनले पशुपन्छी औषधी व्यवसायी तालिम सञ्चालन कार्य प्रक्रिया २०७९ प्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।

एशोसिएसनले एक प्रेस विज्ञप्ति जारी गर्दै २०७९ वैशाख २८ गते औषधी व्यवस्था विभाग र पशु सेवा विभागका महानिर्देशकहरुबाट सदर गरिएको पशुपन्छी औषधी व्यवसायी तालिम सञ्चालन कार्य प्रक्रिया २०७९ प्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे हाे ।

२०७६ भदाैँ ३ गते औषधी सल्लाहकार समितिको ५०औं बैठकको निर्देशनलाई आधार मानी बनाइएको कार्य प्रक्रिया त्रुटिपूर्ण रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

‘उक्त सल्लाहकार समितिको निर्णय नं. ६ मा ग्रामीण क्षेत्रमा भेटेरिनरी औषधीहरुको पहुँच बढाउनका लागि एसएलसी वा सो सरह योग्यता पुगेकालाई औषधी व्यवस्था विभाग र पशु सेवा विभागबाट संयुक्त रुपमा ३५ कार्यदिनको प्रदेश स्तरमा तालिम दिने उल्लेख थियो।,’ जारी विज्ञप्तिमा भनिएकाे छ,’ पशुको अलावा मानिसको जीवनसँग समेत जोडिने पशु चिकित्सा जस्तो संवेदनशील विषयमा गरिएको उक्त निर्णय आपत्तिजनक थियो । मिति २०७९ वैशाख २८ मा गरिएको कार्य प्रक्रिया २०७९ सम्बन्धी निर्णयले उक्त तालिममा सहभागी हुने र औषधी व्यवसायी बनाउने “योग्यतामा” थप चरम लापरवाही गरेको देखिन्छ । जस अनुसार पशु सेवा विभागबाट विगतमा पशु सेवा सम्बन्धी १५ दिन भन्दा बढी तालिम लिएका जुनसुकै व्यक्ति समेत समावेश गर्न सकिने व्यवस्था गरिएको छ।’

औषधी जस्तो संवेदनशिल वस्तुको बिक्रि वितरणसम्बन्धी इजाजत दिने क्रममा गैह्र जिम्मेवार तरिकाले कार्य प्रक्रिया बनाइनु खेदजनक र दु:खदायी रहेकाे एसाेसिएसनकाे ठहर छ ।