असोज ८, काठमाडौं ।
भारतको केन्द्रीय रेलराज्य मन्त्री सुरेश चनाबसप्पा अंगडीको कोरोना संक्रमणका कारण निधन भएको छ । भारतको नयाँदिल्लीस्थित एम्स अस्पतालमा बुधबार राति उपचारका क्रममा उनको निधन भएको हो ।
कर्णाटक राज्यबाट सांसद हुँदै मन्त्री पद पाएका उनलाई ११ सेप्टेम्बरमा कोरोना पुष्टि भएको थियो । उमेरले ६५ पुगेका उनी कोरोनाका कारण ज्यान गुमाउने पहिलो केन्द्रीय मन्त्री हुन् । यस अघि कर्णाटककै भाजपा सांसद अशोक गस्तीको निधन भइसकेको छ ।
पछिल्ला वर्षहरुमा नेपाल र भारतबीच विभिन्न रेल परियोजनाहरुको निर्माणमा समझदारी बन्दै गएकाले मन्त्री अंगडीले दुई देशबीचको सम्बन्धमा पनि विशेष चासो राख्ने गरेका थिए । प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गमा उनी प्रत्यक्ष रुपमा संलग्न थिए ।
यसबीच उनको निधनप्रति भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले समवेदना प्रकट गरेका छन् । त्यसैगरी पूर्व प्रधानमन्त्री एचडी दैवगौडाले पनि मन्त्री अंगाडीको निधनमा शोक व्यक्त गरेका छन् । उनको निधनको शोकमा भारतको गृह मन्त्रालयले बिहीबार दिल्लीका सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।







