अमेरिकी भ्रमणको तरंग

३१ जेठ, काठमाडौं । अमेरिकी सेनाका प्यासिफिक कमान्ड कमान्डिङ वरिष्ठ जर्नेल चार्ल्स ए फ्लिन चार दिने नेपाल भ्रमण सकाएर स्वदेश फर्किएसंगै नेपाली राजनीति तरंगित भएको छ । जर्नेल फ्लिनको भ्रमणमा भएका भेटघाट, उनका अभिव्यक्ति र आगामी दिने हुने दुई देशका अधिकारीहरुको भ्रमण र प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारी र त्यस क्रममा हुने भनिएका सम्झौताको विषयले नेपाली राजनीतिलाई तरंगित गराएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार केही दिनपछि इन्डो प्यासिफिकका प्रमुख जोन लिनोले नेपाल भ्रमणमा आउँदैछन् । त्यसपछि नेपाली सेनाका सेनापतिले अमेरिका भ्रमण गर्ने र लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी भ्रमण गर्ने तयारी छ । परराष्ट्र स्रोतका अनुसार असार १२ गते पछि नेपाली सेनाका सेनापति अमेरिका प्रस्थान गर्ने र असार २८ गते प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका जाने तयारी छ । प्रधानमन्त्री देउवा अमेरिका पुग्दा अमेरिकी र नेपाली सेना बीच स्टेट पाटनरसिप प्रोग्रामको सम्झौता हुन लागेको भन्ने विषयमा नेपाली नेताहरु शसंकित देखिएका छन् ।

यो विषयमा प्रमुख विपक्षी नेकपा एमालेले निरन्तर प्रश्न उठाइरहेको छ । स्टेट पाटनरसिप प्रोग्रामको नाममा सैनिक र रणनैतिक कार्यक्रमहरुमा नेपाललाई जोड्ने प्रयास भएको र त्यसमा वर्तमान सरकार नरम भएको हो भने यो राष्ट्रप्रतिको धोका हुने पूर्वपरराष्ट्रमन्त्री समेत रहेका एमाले उपमाहासचिव प्रदीप ज्ञवाली बताउँछन् । तिब्बत मामिला हेर्ने अमेरिकी मन्त्रीलाई किन नेपाल बोलाएको भन्दै उनले प्रश्न गर्छन । भन्छन्, ‘उहाँ अरु पनि विषय हेर्नुहुन्छ होला तर छिमेकलाई र उसको चासोलाई बेवास्ता गरेर हामीले गर्दैछौं त्यसले हामीलाई अप्ठेरोमा पार्छ । समग्रमा भन्दा वर्तमान सरकारको विदेश नीति ठीक भइरहेको छैन ।’

अमेरिकी अधिकारीको नेपाल भ्रमण, नेपाली अधिकारीहरुको अमेरिका भ्रमण र प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारीको विषयलाई लिएर नेपाली राजनीति तरगिंत भएको छ ।

पाँच दलीय सत्ता गठबन्धनका एक घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे संसद र सिंगो देश जानकार हुनुपर्ने बताउँछन् । भन्छन्, ‘के–के तयारी भैरहेको छ, सबै जानकारी हुनुपर्छ ।’ प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको तयारीबारे उनको थप टिप्पणी छ, ‘हामीबाट असंलग्न परराष्ट्र नीतिमा आँच पुग्ने ढंगले कतै काम त हुन पुगेन ? यसबारेमा सजग र सतर्क हुन सक्यौं कि सकेनौं ? यसको पनि हामीले समीक्षा गर्नुपर्ने आवश्यक छ ।’ कुनै पनि देशको भ्रमणमा जाँदा र अन्र्तराष्ट्रिउ सहयो, अनुदान र ऋण लिँदा समेत ख्याल गर्नुपर्ने उनको सुझाव छ । भन्छन्, ‘ ‘वैदेशिक सहायता र ऋण वा अनुदान लिने सर्तबारे रिभ्यु गर्न पाए हुन्थ्यो । यसबारे हामीले क्लियर धारणा बनाउनुपर्छ ।’

प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई लिएर सत्तागठबन्धनमा खटपट रहेको बुझेको एमाले यही बेला पाँच दलीय गठबन्धन भत्काउन सकिन्छ कि भन्नेमा छन् । सोही अनुसार केपी शर्मा ओलीले दोस्रो तहका नेताहरुलाई माओवादी केन्द्र लगायतका वाम शक्तिहरुसँग सहकार्यक लागि खटाएका छन् । एमाले अध्यक्ष ओलीले आफैँ माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठसँग गोप्य वार्ता गरेका छन् । वार्तामा नेता श्रेष्ठ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमति लिएर गएको बताइन्छ । नेता श्रेष्ठले एमाले बाहेकका नेताहरुसँग पनि प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारी र त्यसबेला हुन सक्ने संभवित सम्झौताको विषयमा छलफल गरिरहेका छन् । समेबार मात्रै नेता श्रेष्ठले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालबीच पनि छलफल गरे ।

सैन्य सम्झौता गर्ने अमेरिकी प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक रहेको सार्वजनिक भएपछि नेपाललाई भेट्न श्रेष्ठ कोटेश्वर निवास पुगेका हुन् । अमेरिकी सैन्य सम्झौता गर्ने प्रस्ताव नेपाली सेनाले अस्वीकार गरिसकेको बताइएको छ ।

उता एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र माओवादी केन्द्रका नेता बर्षमान पुनबीच पनि छलफल भएको छ । छलफलमा बाम तालमल लगायतका विषयमा समेत छलफल भएको बताइन्छ ।

एमाले र माओवादी नेताहरुबीच पछिल्लो समयमा बढेको भेटघाटलाई लिए चलेको बाम तालमेलको चर्चालाई बल पुग्ने गरी माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ पनि सार्वजनिक रुपमा प्रस्तुत भैरहेका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वर परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता क्रममा गुरुङले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेसँग सहकार्य हुन सक्ने बताए । ‘राष्ट्रिय स्वाधीनताको प्रश्नमा जोसँग विचार मिल्छ, हामी उहीसँग चुनावी तालमेल गरेर जान्छौँ’, उनले भने, ‘विगतमा एमालेले संसद विघटन गरेर प्रतिगमनतिर गएकाले कांग्रेससँग मिल्दै स्थानी तह निर्वाचनमा जानु परेको हो।’ उनले नेता नारायाणकाजी श्रेष्ठ र एमाले अध्यक्ष ओलीसँग गरेको भेटलाई स्वाभाविक रुपमा लिएको प्रतिक्रिया पनि दिए ।