सांसद् हुँदादेखि पटक–पटक चर्चा आएकी राज्यमन्त्री विमला वली

३१ जेठ, काठमाडौं । सांसद् हुँदादेखि पटक पटक लफडाको चर्चा आएकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वली आज बिहान आफ्नो पीएसओसहित तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क स्थित एकराज बस्नेतको घरमा पुगेर श्रीमती र छोरीलाई हातपात गरेपछि प्रहरीलाई नियन्त्रणमा लिएको छ ।

यसअघि बस्नेत र वलीले चुम्बन गरेको तस्बिर सार्वजनिक भएको छ । बस्नेत वाईसीएलका कार्यकर्ता हुन् । आज घटना हुँदा बस्नेत घरमा थिएनन् । मन्त्रीले ‘मेरो एकराज खोइ’ भन्दै बस्नेतको घरमा छिरेर बस्नेतकी श्रीमती र छोरीलाई कुटपिट गरेको भिडियो बाहिर आएको छ ।

गत वर्ष उनी वाईसीएल कार्यकर्ता एकराज बस्नेतले प्रयोग गर्ने सामाजिक सञ्जालमा वलीले चुम्बन गरेका तस्बिर सार्वजनिक भएपछि एमाले र माओवादी पङ्क्तिमा खैलाबैला मच्चिएको थियो । बस्नेत स्वयंको फेसबुक स्टोरीमा देखिएको यो तस्बिर केही समयमा हटाइएको थियो ।

विमला एमालेका तत्कालीन सांसद स्वर्गीय उत्तरकुमार वलीकी पत्नी हुन् । उत्तरको दुर्घटनामा निधन भएपछि उनलाई श्रीमानकै निर्वाचन क्षेत्रमा तत्कालीन नेकपाले उम्मेदवार बनाएको थियो । लुम्बिनी प्रदेशमा एमालेको सरकार ढाल्न निर्णायक बनेकी विमला कहिले माओवादी त कहिले एमाले बनेर चर्चामा रहिन् । उनीले पछि माओवादी रोजेकी हुन् ।