एसपीपी तत्काल अगाडि नबढाउन प्रधानमन्त्री तयार

१ असार, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका शीर्ष नेताहरूलाई अमेरिकाले प्रस्ताव गरेको (स्टेट पार्टनरसीप प्रोग्राम) एसपीपी सम्झौता तत्काल अगाडि नबढाउने आश्वासन दिएका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको भेटवार्तामा देउवाले यस्तो आश्वासन दिएका हुन्।

दाहाल र नेपालले भेटमा देउवालाई यो विषयको बारेमा अगाडि नबढ्न सुझाव दिएका थिए।

सम्झौतामा हस्ताक्षर गर्न अमेरिकाले दबाब दिइरहेको अवस्थामा प्रधानमन्त्री देउवाले सत्ता सहयात्री दलका शीर्ष नेताहरूलाई सम्झौता अगाडि नबढाउन वचन दिएका हुन्।

अध्यक्ष नेपालले मंगलबार बसेको एकीकृत समाजवादीको बैठकमा पनि प्रधानमन्त्रीले यस विषमा हस्ताक्षर नगर्ने बताएको ब्रिफिङ गरेका थिए। तीन नेताबीच हिजो बेलुकी र आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भेट भएको थियो ।

आज बिहान भएको भेटमा प्रधानमन्त्री देउवाले आफु एसपीपी तत्काल अगाडि नबढाउन तयार रहेको बताएका नेताहरुले जानकारी दिए ।