१८ असार, बारा ।निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुमगमन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताको टोली बारा पुगेका छन्। शनिबार बिहान १० बजे नेपाली सेनाको हेलिकप्टरमार्फत शीर्ष नेताहरू निजगढ ओर्लिएका हुन् ।
अवलोकनमा प्रधानमन्त्री देउवासहित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, खानेपानी मन्त्री उमाकान्त चौधरी पनि रहेका छन्।
शीर्ष नेताहरूलाई विमानस्थल निर्माण आयोजनाका प्रमुख विजय यादवले ब्रिफिङ गरेका छन् । त्यसअघि शीर्ष नेताले विमानस्थल निर्माण क्षेत्रको हवाई निरीक्षण गरेका थिए । वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसला आएपछि शीर्ष नेताहरुले पहिलो पटक निर्माणक्षेत्रको भ्रमणमा गएका हुन् ।
गत बुधबार सर्वोच्च अदालतले सार्वजनिक गरेको फैसलाको पूर्णपाठमा बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन बाटो खुला गरेको छ।
निजगढमा विमानस्थल बनाउने गरि आजसम्म भएका सरकारी निर्णय बदर गर्नेबारे यो मुद्दा सुनुवाइ गरेको पूर्ण इजलासका पाँचै न्यायाधीशहरू सहमत भएपनि उक्त विमानस्थलको विकल्पका सम्बन्धमा भने तीनजनाको एउटा र दुईजना न्यायाधीशले अर्कै राय दिएका छन्।
न्यायाधीश विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा र प्रकाशसिंह राउतको बहुमतीय रायले नेपालमा अन्तराष्ट्रिय स्तरको सुविधासम्पन्न एयरपोर्ट आवश्यक रहेको भन्दै विकल्प खोज्न भनेको छ। त्यो विकल्प निजगढ नै हुने कि अन्त हुने भन्नेबारे उक्त रायमा कुनै किटान गरिएको छैन। उनीहरूले निजगढ विमानस्थलको प्राविधिक, वातावरणीय र आर्थिक हिसाबले उपयुक्त हुने गरी विकल्प खोज्न भने पनि निजगढमै विमानस्थल बनाउन रोक भने नलगाएको तीनमध्ये एक न्यायाधीशले बताए।







