केन्द्रीय गठबन्धनको फैसलापछि मात्रै मुख्यमन्त्री पाण्डेको राजीनामा तय गरिने

१८ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशको मुख्यमन्त्रीको राजीनामा केन्द्रीय गठबन्धनको फैसलापछि मात्रै तय गरिने बताएको छ।

शनिबार काठमाडौंमा बसेको पार्टीको बागमती प्रदेशको संसदीय दलको बैठकले सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल गरेरमात्रै टुंगो लगाइने पार्टीका प्रचार प्रसार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

पछिल्लो समय गठबन्धन दलका सांसदहरूले बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डे फेरिनु पर्ने भन्दै विरोध गर्दै आएका थिए।

‘केन्द्रीय गठबन्धनले जे फैसला गर्छ त्यही हुन्छ । तलका हल्लाले केही फरक पर्दैन’, बैठकपछि संसदीय दलका उपनेता कृष्ण खनालले भने, ‘केन्द्रीय गठबन्धनले मिलाएर जाउँ भनेमा मुख्यन्त्रीले राजीनामा दिनुहुन्छ नत्र राजीनामा सम्भव छैन ।’

उनले भने, ‘नियमित प्रकिया अन्तर्गत संसदीय दलको वैठक बसेको हो । यसमा मुख्यमन्त्रीको राजीनामाको विषयमा छलफल हुने कार्य तालिका नै थिएन। केन्दीय नेताहरुको सहमतिबाटै सरकारको नेतृत्व फेरिने हो । यो बागमती मात्र नभएर सातै प्रदेशको कुरा हो । हामीले यहाँ छोडदा कहाँ पाउने त्यो पनि एउटा विषय हुन आउँछ । त्यसैले आजको बैठकमा सो विषयमा छलफल भएन । शीर्ष नेताको निर्णय नै अन्तिम हुनेछ ।’

नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले वागमतीमामात्रै मुख्यमन्त्री परिवर्तन हुननसक्ने बताए । उनले सातै प्रदेशबारे छलफल भएर निर्णय भए आफ्नो पार्टी बाधक नबन्ने तर बागमतीको मात्रै मुख्यमन्त्री परिवर्तनको पक्षमा आफ्नो पार्टी नरहेको बताए ।

आजको बैठकमा प्रदेश सरकारको बजेट कार्यान्वयन र तिनका चुनौतीको लागि अगाडिको रणनीतिका विषयमा छलफल भएको खनालले बताए । बैठकमा आगामी निर्वाचनको तयारीमा लाग्न सबै सांसदहरुलाई निर्देशन समेत दिइएको छ ।