श्रम र उत्पादनसँग जोड्ने नयाँ विचारसहितको क्रान्तिकारी पार्टी निर्माण गछौँ : प्रचण्ड

२३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रम र उत्पादनसँग जोड्ने नयाँ विचारसहितको क्रान्तिकारी पार्टी निर्माण गर्ने बताएका छन् ।

प्रज्ञा भवन कमलादीमा बिहीबार जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दैे दाहालले विशेष महाधिवेशन गरेर एमाले र कांग्रेसभन्दा फरक विचारको क्रान्तिकारी पार्टी निर्माण गर्ने बताएका हुन् ।

उनले भने, ‘छिटोभन्दा छिटो महाधिवेशन गर्दैछौं, त्यहाँ समाजवाद र त्यससम्बन्धी कार्यक्रम निर्माण र अन्य विषयमा गम्भीर छलफल हुन्छ।’

यो पार्टी कांग्रेस,एमाले जस्तो बुर्जुवा होइन,यो भिन्न छ, श्रम र उत्पादनसँग जोड्ने पार्टी बनाउने हो,’ उनले भने । पार्टीलाई क्रान्तिकारी बनाउन सबैले असाधारण त्याग र योगदान गर्न आवश्यक रहेको पनि उनले बताए ।

त्यसैगरी पार्टीभित्रकै व्यक्तिहरुको अन्तरघातको कारण पनि धेरै ठाउँमा पराजित भएको उनले बताए। उनले भने, ’यो पार्टीलाई क्रान्तिकारी बनाउन असाधारण त्याग र योगदान जरुरी छ,। हामी अरुभन्दा फरक हो भनेर सावित गर्न जरुरी छ,। सिद्धान्तको कुरा गर्ने मात्र नभएर हामी विचारलाई व्यवहारमा लागू गर्छौं, हामीकहाँ कहीँ न कहीँ अन्तरघात भएर धेरै ठाउँमा पराजित भएका छौँ, यसको लेखाजोखा हुनुपर्छ,चुनावी दाउपेच पनि ख्याल गर्न पर्ने रहेछ ।’

माओवादीले गत पुसमा आठौं महाधिवेशन गरेको थियो । तर अहिलेसम्म पदाधिकारी, स्थानीय कमिटी र पोलिटब्यूरो बनाउन सकेको छैन ।