संसदीय छानविन समितिले पूर्व अर्थमन्त्रीमाथि मंगलबारदेखि छानविन शुरु गर्ने

२४ असार, काठमाडौँ । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न प्रतिनिधिसभाले बनाएको विशेष संसदीय छानविन समितिले आउंदो मंगलबारदेखि छानविनको काम शुरु गर्ने भएको छ ।

शुक्रबार नयाँ बानेश्वरमा सभामुख अग्निप्रसाद सापकोटाले छानविन समितिका ११ सदस्यसँग सहजीकरण बैठक गरेका थिए । एमाले सांसद खगराज अधिकारीका अनुसार सो बैठकमा छानविन विशेष समितिका सदस्यहरूबीच परिचयात्मक कार्यक्रम मात्र भएको थियो ।

अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको र करको दर हेरफेर गरेको आरोप छ ।

गत बुधबार प्रतिनिधिसभाको बैठकले शर्मामाथि छानविन गर्न ११ सदस्यीय छानविन समिति गठन गरेको थियो । २ दिनअघि प्रतिनिधिसभाबाट पूर्वमन्त्री शर्माले राजीनामा दिएका थिए । प्रमुख प्रतिपक्षी दल एमालेले अर्थमन्त्रीको राजीनामा माग्दै छानविनका लागि संसदीय समिति बनाउन माग गर्दै आएको थियो । एमालेको माग अनुसार अर्थमन्त्रीले छानविनका लागि राजीनामा दिएका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले छानविनका लागि संसदमा प्रतिनिधित्व गर्ने दलबाट ११ सदस्यीय छानविन टोलीको नाम प्रस्तुत गरेका थिए । संसदीय छानविन विशेष समिति नाम दिइएको सो समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक, माओवादी केन्द्रबाट देव गुरुङ र शक्तिबहादुर बस्नेत, काँग्रेसबाट पुष्पा भुसाल र सीताराम महतो, एकीकृत समाजवादीबाट सरलाकुमारी यादव, लोसपाबाट लक्ष्मणलाल कर्ण र जसपाबाट सुरेन्द्रप्रसाद यादव छानविन विशेष समितिमा रहेका छन् । सभामुखले बोलाएको छलफलमा समितिका सदस्यहरुलाई निष्पक्ष ढंगले छानविन गरी तोकिएको समयमा प्रतिवेदन बुझाउन निर्देशन दिएको बताए । छानविन समितिको बैठक बस्न नसकेकाले कसलाई अध्यक्ष बनाउने भन्ने टुङ्गो लागेको छैन् ।

१० दिनको समय तोकिएका उक्त छानविन समितिका ११ सदस्यमध्ये एकजनालाई अध्यक्ष तोकिनेछ । समितिले छानविनका लागि आफैले कार्यविधि बनाउनेछ । उनीहरुले पूर्व अर्थमन्त्री, मन्त्रालयका सचिव लगायतका कर्मचारीसँग सोधपुछ गर्नेछन् ।

समितिको सचिवका लागि संघीय संसद सचिवालयका सहसचिव सुरेन्द्र अर्याललाई सचिव तोकिएको छ । उनीहरुले काम सुरु गरेको १० दिनभित्र सभामुखलाई प्रतिवेदन बुझाउनुपर्नेछ ।