२४ असार,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाकी निवर्तमान उपमेयर इन्दिरा कार्की र प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
अख्तियारले कार्कीसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, इन्जिनियर, वडाअध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसमेत ९ जना उपर गैरकानूनी रुपमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार भ्रष्टाचार आरोपितमा मुद्दा दायर हुनेमा कार्की र अधिकारीसहित सहरी विकास महाशाखा प्रमुख इन्जिनियर गोपाल पोखरेल, इन्जिनियर पुष्पक प्रधान र सव–इन्जिनियर मो. इफतेखार आलम, पोखरीमा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष बलदेव शाहु सुडी, सचिव दिनानाथ आचार्य र कोषाध्यक्ष कल्पना घिमिरे तथा वडा नं. ज्ञछ का तत्कालीन वडा अध्यक्ष असलम आलम छन् ।
महानगरपालिकामा पेस भएको झुट्टा डोरहाजिर, गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदनका आधारमा ती कागजातहरु स्वीकृत गरी भुक्तानी दिएर आरोपितहरूले १० लाख ५५ हजार ९७९ रुपैयाँ हानी पु¥याएको बताइएको छ ।
उनीहरुले पोखरीमा पार्क निर्माण कार्यमा उपभोक्ता समितिबाट बास्तविक रुपमा भए गरेको कार्यभन्दा बढी नभए नगरेको कार्यसमेत नापी किताबमा चढाई उपभोक्ता समितिसँगको सम्झौता अनुसारका निर्धारित सर्त तथा मापदण्ड विपरीत ज्यामीद्वारा गर्नुपर्ने माटो फिलिङ्गको कार्य रोलर मेसिनद्वारा गराई उक्त कार्यलाई ज्यामीद्वारा गरेको भनी गैरकानूनी लाभ प्राप्त गर्ने बदनियतले कार्य सम्पन्न प्रतिवेदन तयार गरी महानगरपालिकामा पेश गरेको, झुट्टा डोरहाजिर, गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी सो कागजातहरु स्वीकृत गरी १० लाख ५५ हजार ९७९ रूपैयाँ ४८ पैसा भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।







