२५ असार, जनकपुर । पूर्वराष्ट्रपति रामवरण यादवले लोकतन्त्र र संविधानमाथि पटक–पटक आक्रमण हुँदा मन दुख्ने बताएका छन् ।
शनिबार जनकपुरमा आयोजित मधेश मन्थन’ कार्यक्रममा प्रवचन दिँदै पूर्वराष्ट्रपति यादवले सो कुरा उल्लेख गरेका हुन्।
‘संविधान सबै नेपालीलाई जोड्ने साझा दस्तावेज हो’ यादवले भने । मधेश–पहाड–हिमालका साथै पूर्व–पश्चिम र उत्तर–दक्षिणलाई जोड्ने दस्तावेजका रूपमा संविधान रहेको उनले बताएका छन् ।
संविधानमाथि आक्रमण गर्दै प्रतिनिधिसभा विघटन भएको पनि उनको टिप्पणी थियो ।’२०७२ मा संविधान जारी भएपछि पनि पटक–पटक आक्रमण भएको छ र २–२ पटक प्रतिनिधिसभा विघटन पनि भयो । यसले बेला–बेला मन दुख्ने गर्छ,’उनले भने । तर राजनीतिक पार्टीहरुले मिलेर समस्याको समाधानहरु निकाल्नु भने आफैंमा आफैंमा प्रशंसनीय रहेको उनले बताए ।
संविधान जारी हुँदा केही सन्देह भए पनि पछि राजनीतिक दलहरूले त्यही संविधानअनुरूप राजनीति अगाडि बढाएकोमा भने आफू सन्तुष्ट भएको उनले बताए । ‘मैले संविधान दिँदा मधेशमा गोली चलिरहेको थियो । तर मैले संविधान जारी गरिरहँदा त्यस्तो होला भन्ने मैले सोचेको थिइँन । मेरा केही सन्देहहरु भने थिए । त्यसैले मैले सबै राजनीतिक पार्टीहरुलाई बोलाएर कुरा पनि गरेको थिएँ । संविधान जारी गरेपछि जुन हिसाबले पार्टीहरुले मिलेर चुनाव गराए त्यसपछि भने म सन्तुष्ट भएँ,’ उनले भने ।
‘जनकपुर सुन्दर र सांस्कृतिक तथा धार्मिक सहर हो । यो जनकपुरबाट मैले राजनीति सुरु गरें।’ तराई र पहाडमा स्थापित धेरै विद्वानहरुको उदय जनकपुर बाटै भएकोले जनकपुरको इतिहास सम्झिँदा आफूलाई गर्व हुने र बेला बेला न्यास्रो लाग्नेसमेत उनले बताए ।







