संवैधानिक परिषद् विधेयक अविलम्ब फिर्ता गरिनुपर्छ : विश्वप्रकाश शर्मा

२७ असार, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संवैधानिक परिषद् विधेयक गलत भएको र अविलम्ब फिर्ता गरिनुपर्ने बताएका छन् ।

महामन्त्री शर्माले केपी शर्मा ओलीको सरकारको पालामा झै देउवा सरकारले पनि गलत गर्न लागेको र यसमा आफुहरु सतप्रतिशत प्रष्ट रहेको बताएका छन् । उनले यस्तो विधेयक ल्याउने काम कसरी भयो र कसले सल्लाह दियो भन्दै प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।

महामन्त्री शर्माले आफ्नो फेसबुकमा प्रश्न गर्दै यस्तो लेखेका छन् ।‘ संवैधानिक परिषद् सम्बन्धि विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दुःखद छ प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता जरुरी छ’,

प्रधानमन्त्री शेरबहादुर देउवाले गत बुधबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा पेश गरेका थिए ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा ल्याइएको अध्यादेशसँग मिल्दोजुल्दो प्रावधान राखी अहिलेको सरकारले विधेयक ल्याएपछि आलोचना हुँदै आएको छ ।