२८ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव पक्ष र डा. बाबुराम भट्टराई पक्षले आज अलग–अलग बैठक बोलाएका छन् ।
भट्टराई पक्षले काठमाडौंको जडिबुटीस्थित एक ब्यांक्वेटमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ । बैठक दुई दिनसम्म चल्ने छ ।
उपेन्द्र यादव पक्षले पनि केन्द्रीय कार्यकारिणी समितिको बैठक आजैदेखि पर्साको वीरगञ्जस्थित पुजन होटलमा बोलाएको छ । बैठकमा सहभागी हुनका लागि अध्यक्ष उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु वीरगञ्ज पुगिसकेका छन् ।
यादव र भट्टराईले पार्टीबाट अलग–अलग हुने समझदारी गरिसकेका छन् । सोही समझदारी अनुसार दुई पक्षका नेताहरुले समानान्तर बैठक बोलाएका हुन् । यससँगै यादव र भट्टराई एकअर्काबाट अलग्गिएका छन् ।
विस्तारित बैठकमा समसामयिक राजनीति लगायत पार्टी नेतृत्वमा देखिएको समस्याका विषयमा छलफल गर्ने भट्टराई पक्षका नेता गंगानारायण श्रेष्ठले बताएका छन् ।
उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन संघीय समाजवादी फोरम र बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीबीच २०७६ साल बैशाख २३ गते एकता भएको थियो । पार्टी एकतापछि ‘समाजवादी पार्टी’ नामकरण गरिएको थियो ।
२०७७ साल बैशाख १० गते राष्ट्रिय जनता पार्टीसँग पुनः एकीकरण भई ‘जनता समाजवादी पार्टी’ बनेको थियो । तर यादव र भट्टराईबीच एक–अर्काको कार्यशैली, समानुपातिक नेतृत्व प्रणाली लगायतका विषयमा मतभेद हुँदै आएको थियो । मतभेद चरमबिन्दुमा पुगेपछि शीर्ष दुई नेताहरुले अलग अलग हुने समझदारी गरेका थिए ।
यादव पक्षले भने आफूले बोलाएको बैठक आधिकारिक भएको र भट्टराई पक्षले बोलाएको बैठक विधान विपरित भएको बताएका छन् ।







