ई–स्पोर्ट्स शिर्षकमा छुट्याएको बजेट कुनै अमुक संस्था र खेलका लागि नभएको मेयर शाहको स्पष्टीकरण

३० असार काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले महानगरले ई–स्पोर्ट्सका लागि छुट्याएको बजेट कुनै अमुक संस्था र खेलका लागि नभएको स्पष्टीकरण दिएका छन्।

महानगरले आउँदो आर्थिक वर्षका लागि ई–स्पोर्ट्स शिर्षकमा एक करोड रकम छुट्याएको छ। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै शाहले कानुनले तोकिए बमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुने बताएका छन्।

सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा उठेको प्रसंगका विषयमा आफ्नो ध्यानाकर्षण भएको भएको उल्लेख गर्दै उनले अघि लेखेका छन्। ‘ई–स्पोर्ट्सका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइन। आधुनिक विश्वमा ई–स्पोर्ट्स खर्बौंको आर्थिक योगदान गर्ने विधा हो। नेपालमा पनि यसको व्यवसायिक पाटो बढ्दैछ भने यही वर्ष हुने एसियाली खेलमा ई–स्पोर्ट्स पनि समावेश हुनेछ र योग्य रहेमा नेपाली ई–स्पोर्ट्सका खेलाडीहरूले पनि सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्नेछन्। यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको हो। कानुनले तोकिए बमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुनेछ। फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्ने जस्ता गैरकानुनी र अनैतिक कार्यमा महानगर सामेल हुने छैन।’

उक्त बजेटको विषयलाई लिएर संचारमाध्यममा विभिन्न टिकाटिप्पणी आएकाले उनले यो विषयलाई लिएर अतिरञ्जित र अनैतिक रूपमा आफ्नो नाम जोडिएका समाचारको खण्डन गरेका छन् । पत्रकारिताको मर्यादाभित्र बसेर आफ्नो कार्य गर्न, गराउन पनि संचारमाध्यमलाई अनुरोध गरेका छन्।

‘ई–स्पोर्ट्सको सञ्जाल बढिरहेको र धेरैले यसमा करिअर समेत बनाइरहेका छन्। व्यवसायिक रूपमा खेल्न थालिएको छ। मानिसहरू परम्परागत खेलबाट ई–स्पोर्ट्समा सिफ्ट भइरहेका छन्। यो विषयमा अध्ययन गरेपछि ई–स्पोर्ट्स प्रतियोगिताका लागि बजेट छुट्याएको हो,’ शाहले भने।

मेयर शाहका स्वकिय सचिव भुपदेव शाहले पनि उक्त बजेट कुनै निश्चित कम्पनीका लागि नभएको बताए। उनका अनुसार काठमाडौं महानगरले अन्तर्राष्ट्रिय स्तरको ई–स्पोर्ट्स प्रतियोगिता आयोजनाका लागि सो बजेट छुट्याएको हो।

मेयर शाहले चुनाव अघि पनि आफ्नो घोषणापत्रमै ई–स्पोर्ट्सका लागि काम गर्ने उल्लेख गरेका थिए।

नेपालमा ई–स्पोर्ट्स खेल्ने दर्ता भएका दुई दर्जन बढी टिम छन्। उनीहरूले काठमाडौं महानगरले आयोजना गर्ने प्रतियोगितामा भाग लिन सक्नेछन्।

’द रियल सोल्जर्स’ (डिआरएस) गेमिङ वैधानिक रूपमा दर्ता भएको पहिलो ई–स्पोर्ट्स टिम हो। २०७६ मा दर्ता भएको डिआरएसले २०७७ को चैतमा आफ्नो टिममा पाँच खेलाडी आबद्ध गर्दै नेपालमा ई–स्पोर्ट्सको व्यवसायिक सुरुवात गरेको थियो

चीनको हाङझाउमा हुने एसियाली खेलकुदमा ई–स्पोर्ट्स र ब्रेक–डान्सिङमा पहिलो पटक प्रतिस्पर्धा हुँदैछ। यसअघि भदौ २५ देखि असोज ९ सम्म हुने तय भएको एसियाली खेलकुद कोभिड–१९ का कारण स्थगित गरिएको थियो। प्रतियोगिताको नयाँ मिति चाडै सार्वजनिक गर्ने आयोजकको भनाइ छ।

एसियाली खेलकुद पहिलोपटक प्रतिस्पर्धा हुन लागेको ई–स्पोर्ट्सलाई इन्डोनेसियामा सन् २०१८ मा भएको एसियाडमा प्रदर्शनी खेलको रूपमा राखिएको थियो। यसपटक भने ई–स्पोट्सलाई आधिकारीक खेलको मान्यता दिइएको छ। ओलम्पिक काउन्सिल अफ एसिया (ओएसी) ले इस्पोर्ट्सलाई माइन्ड स्पोर्ट्स विधामा राखेको छ। माइन्ड स्पोर्ट्समा इस्पोर्ट्सहित चेससहितका खेल छन्।

कम्प्युटर÷मोबाइलको सहायताले भर्चुअल रूपमा खेलिने ई–स्पोर्ट्सको ८ खेलमा एसियाली खेलकुदमा प्रतिस्पर्धा हुनेछ। जसमा नेपालले ६ खेलमा खेल्ने प्रयास गर्नेछ। त्यसका लागि नेपालले राष्ट्रिय छनोट सम्पन्न गरिसकेको छ। नेपाल ई–स्पोर्ट्स एसोसिएसन (नेसा) का अनुसार राष्ट्रिय छनोट पार गरेका खेलाडीले दक्षिण एसियाली छनोटमा भाग लिनेछन्। छनोटको नयाँ तालिका छिटै सार्वजनिक हुने नेसाका अध्यक्ष सुरज डंगोलले बताए।

नेपालले पब्जी मोबाइल, डोटा–२, हर्थस्टोन, ईए स्पोर्ट्स फिफा ब्रान्डेड सोकर गेम्स, एरेना अफ भालोर र ड्रिम अफ थ्री किङडम्स–२ का लागि एसियाली खेलकुदका लागि छनोट खेल्नेछ। फिफा र हर्थस्टोनमा एक जना खेलाडी हुनेछन् भने बाँकी चार खेल समूहगत खेल हो।

ओलम्पिक काउन्सिल अफ एसियाले अन्य खेलका लागि नेपाललाई कोटा दिने भए पनि ई–स्पोर्ट्स खेल्नका लागि भने छनोट पार गर्नुपर्ने नियम बनाएको छ।
त्यहीअनुसार छनोट भएका ई–स्पोर्ट्सका खेलाडीले आगामी जुन–जुलाईमा हुने क्षेत्रीय छनोटमा नेपालको झन्डामा भर्चुअल युद्ध लड्नेछन्।

क्षेत्रीय छनोटबाट नेपालले एसियाड खेल्न पाउने वा नपाउने पक्का हुनेछ।
इलोक्ट्रोनिक मध्यमबाट खेलिने भएकाले ‘ई–स्पोर्ट्स’ नाम दिइएको हो। यी खेल मोबाइल र कम्प्टुरमा खेल्न सकिन्छ। दुवै डिभिजनका लागि छुट्टा छुट्टै गेम हुन्छन्।

ई–स्पोर्ट्सबाट प्रतिस्पर्धा र सामजिक सञ्जालमा आफूले खेलेको प्रत्यक्ष प्रशासण गरेर पैसा कमाउन सकिन्छ। विश्वका कतिपय चर्चित खेलाडीले खेलेको प्रत्यक्ष प्रशारण एकै पटक लाख भन्दा बढीले हेर्ने गरेका छन्। यस्तै प्रायोजन र विभिन्न टिममा आबद्ध भएर पनि पैसा कमाउन सकिन्छ। कतिपय देशले ई–स्पोर्ट्सलाई अरू परम्परागत खेल जतिकै मान्यता दिइसकेका छन्।

ई–स्पोर्ट्सलाई नेपालमा बुझाउन गाह्रो भएको अध्यक्ष डंगोलले बताए। लत नबनाई निश्चित समय दिएर ई–स्पोर्ट्स खेल्नु पर्ने उनले बताए।