प्रश्नपत्र निर्माणमा भएका लापरवाही रोक्न त्रिविलाई १० बुँदे मागपत्र बुझाउँदै अनेरास्ववियु

२ साउन, काठमाडौं । नेकपा एमाले विद्यार्थी संगठन अनेरास्ववियुले प्रश्नपत्र निर्माणमा भएका लापरवाही रोक्न र परीक्षा प्रणाली सुधार गर्न त्रिभुवन विश्वविद्यालयलाई १० बुँदे मागपत्र बुझाएको छ।

विभिन्न तहका प्रश्नपत्र निर्माणका क्रममा देखिएका विकृति र लापरवाही रोक्न माग गर्दै अध्यक्ष सुनिता बरालसहितको टोलीले सोमबार त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई १० बुँदे मागपत्र बुझाएको हो।

हालैमात्र त्रिविको विभिन्न तहको परीक्षामा गत वर्षकै प्रश्न दोहोरिएको, निजी कलेजको आन्तरिक परीक्षाको प्रश्नपत्र हुबहु मिलेको जस्ता समस्या देखिएका थिए । त्रिविको परिक्षा प्रणाली र प्रश्नपत्र निर्माणमा भएका लापरवाहिको चौतर्फी विरोध भएपछि अनेरास्ववियुले अनुशासन भङ्ग गर्ने, परीक्षाकेन्द्र मिलेमतो गर्ने शिक्षक तथा कर्मचारीहरूको भित्रि अध्ययन गरी प्रतिवेदन तयार गरी सार्वजनिक गर्न माग गरेको छ ।

त्यस्तै त्रिविले निर्धारण गरेका परीक्षा केन्द्रहरू सम्भव भएसम्म विद्यार्थीलाई पायक पर्ने र एउटै सवारी साधनको प्रयोगबाट पुग्न सकिने स्थानमा निर्धारण गर्न पनि अनेरास्ववियुले माग गरेको छ ।

प्रत्येक जिल्लाभित्रको परीक्षा केन्द्र सम्बन्धित जिल्लामै तोक्न, परीक्षा नियन्त्रण कार्यालयको सेवा विद्यार्थीहरूलाई सजिलो हुनेगरी विस्तृत रूपमा उल्लेख गरी एक हप्ताभित्र नागरिक बडापत्र राख्न पनि माग गरेको अनेरास्ववियुका केन्द्रीय कमिटीका सचिवालय सदस्य तथा त्रिवि इन्चार्ज मदन विष्टले जानकारी दिए ।

परीक्षा सञ्चालन भएको १२० दिन पूरा भइसकेका सबै तहका परीक्षाको परीक्षाफल ४५ दिन भित्रमा प्रकाशित गर्न र सबै तहका सबै परीक्षाको परीक्षाफल बढीमा तीन महिनाभित्रमा प्रकाशित गर्न पनि माग गरिएको छ ।

आवश्यक कागजात र प्रक्रिया पूरा गरेका विद्यार्थीको प्रमाणपत्र २४ घण्टाभित्र दिन र विविध कारणवश निर्धारित शैक्षिक वर्षभित्र तह पूरा गर्न नपाएका विद्यार्थीहरूलाई समय समयमा मौका परीक्षाको व्यवस्था गर्न पनि अनेरास्ववियुले माग गरेको छ ।