३ साउन, काठमाडौं । लामो समयदेखि चलचित्र निर्देशनबाट ओझेलमा परेका निर्देशक निश्चल बस्नेत आजभोली एकपछि अर्को चलचित्र र केही म्युजिक भिडियो अभिनयमै रमाएका देखिन्छन् ।
फिल्म ‘लुट’ बनाएर नेपाली फिल्मको रुपरेखा बदलेका निर्देशक बस्नेत २०१७ मा आएको ‘लुट’को सिक्वेलपछि निर्देशनमा फर्किएका छैनन् । गएको पाँच वर्षमा उनले केही फिल्म निर्देशन गर्न लागेको खबर बाहिर नआएको होइन ।
लकडाउनअघि उनी फिल्म ‘जिन्दावाद’ बनाउने अन्तिम तयारीमा समेत थिए । तर, फाइनल भइसकेको स्क्रिप्ट चित्त नबुझेपछि उनले फिल्म थन्काए ।
बरु, ‘लुट २’पछि निश्चल अभिनयमा बढी व्यस्त देखिए । यो बीचमा उनले ‘प्रसाद’, ‘घामड शेरे’, ‘दुई रुपैयाँ’ र ‘दि सिक्रेट्स अफ राधा’ फिल्मसँगै केही म्यूजिक भिडियोमा अभिनय र केही गीतमा आवाज समेत भरे । उनले फिल्म ‘प्रसाद २’मा पनि काम गर्ने सम्झौता भएको थियो । तर, पछि उनले फिल्म छाडे । अब उनी एक नयाँ फिल्ममा अभिनय गर्ने तयारीमा रहेको बताइएको छ ।
सोमवार ‘दि सिक्रेट्स अफ राधा’को गीत सार्वजनिक कार्यक्रममा उपस्थित निश्चललाई पत्रकारले अब निर्देशन गर्न चट्टै छाडेको हो र भन्ने समेत प्रश्न गर्न भ्याए। जवाफमा उनले नगरुन्जेललाई छाडेको प्रतिक्रिया दिए । आफूलाई स्क्रिप्ट जबसम्म चित्त बुझ्दैन तबसम्म निर्देशन नगर्नै र चित्त नबुझेकै कारण निर्देशनमा पनि ढिलाई भएको उनले बताए ।
उनले ‘प्रसाद २’ केही चिजमा चित्त नबुझेपछि छाडेको पनि बताए । उनले फिल्म छाड्नुको स्पष्ट कारण भने खुलाएनन् । उनले यो फिल्मको टिमबीच देखिएको समस्याको बारेमा पनि आफ्नो धारणा राखे । मिडियाले चर्चाका लागि मात्र एकतर्फी समाचार बाहिर ल्याएको बताउँदै निश्चलले कहिँ खटपट भइरहेको छ भने समस्या दुईतिर रहेको बुझ्नुपर्ने र समाधान पनि दुई पक्षबाटै हुने बताए ।







