भ्याक्सिन जाँच्न जानाजान कोरोना संक्रमित बनाइने

असोज ९, काठमाडौं ।
बेलायतमा कोरोना भ्याक्सिनको परीक्षणका लागि स्वस्थ व्यक्तिलाई कोरोना संक्रमण गराउन मिल्ने कानून ल्याउने तयारीमा त्यहाँको सरकार छ । विश्विद्यालयका अध्ययनका लागि यस्तो कानून ल्याउन लागिएको हो ।

‘ह्युमन च्यालेञ्ज स्टडिज्’ नाम दिइएको उक्त परीक्षण अन्तर्गत युके सरकारले ‘च्यालेञ्ज ट्रायल’ सम्पन्न गर्नेछ । यस अन्तर्गत स्वयंसेवकलाई संक्रमित बनाइने र उनीमाथि खोपको परीक्षण गर्ने बताइएको छ ।

यस्ता परीक्षणका लागि केही व्यक्ति तयार समेत रहेको बताइएको छ । उनीहरू यस परीक्षणबाट हजारौंको ज्यान जोगिने भए आफू परीक्षण गराउन तयार रहेको बताउने गरेका छन् ।

अक्सफर्ड विश्वविद्यालयका प्राध्यापक पिटर होर्बिले स्वस्थ युवाको खोज भइरहेको बताए । उनका अनुसार युवामा जोखिम कम रहने भएकाले उनीहरूलाई संक्रमित गराउने र भाइरसप्रति उनीहरूको शरीरको रोग प्रतिरोधात्मक क्षमता र खोपको प्रभावकारीता अध्ययन गरिनेछ ।

यो नियम लागू भए विश्वमै युके यस्तो पहिलो राष्ट्र हुनेछ जसले स्वस्थ व्यक्तिलाई जानाजान संक्रमित बनाउनेछ । परीक्षणमा सामेल कसैमा गम्भीर अवस्था आए कोरोना संक्रमण निको पार्ने उपायबाट उनीहरूलाई फेरि स्वस्थ बनाउने विश्विद्यालयको तयारी छ ।
(एजेन्सी)