कांग्रेस प्रमुख सचेतकमा यादव र सचेतकमा विश्वकर्मा

४ साउन, काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधि सभा संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मा नियुक्त भएका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता एवं सभापति शेरबहादुर देउवाले बुधबार पार्टीको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गरेका हुन् ।

यसअघि प्रमुख सचेतकमा रहेका बालकृष्ण खाँण गृहमन्त्री भएपछि रिक्त भएको उक्त पदमा यादव र पार्टीको सचेतक रहेकी पुष्पा भुसाल उपसभामुखमा नियुक्त भएपछि रिक्त रहेको सचेतक पदमा विश्वकर्मालाई नियुक्त गरिएको हो ।

यसअघि उपसभामुखको जिम्मेवारी सम्हालिसकेकी यादवले पार्टीको कोषाध्यक्षको रुपमा रहेकी थिइन् भने विश्वकर्मा कांग्रेस केन्द्रीय सदस्य हुन् ।