तीन सय ८० ह्वेल मृत भेटिए

असोज ९, काठमाडौं ।
अस्टे«लियाको तास्मानिया द्विपमा तीन सय ८० ह्वेल मृत भेटिएका छन् । मृत भेटिएका पाइलट ह्वेल कम पानी भएको स्थानमा अड्किएको बताइएको छ ।

सोमबादेखि उक्त स्थानमा ती ह्वेल अड्किएका थिए । उद्धारकर्ताहरूले थाहा पाएपछि ७० ह्वेलको ज्यान बचाउन सफल भएका छन् भने २० वटालाई पुनः समुद्रमा फर्काइएको बताएका छन् ।

तर कतिपय ह्वेल जीवित रहे पनि बचाउन सकिने स्थितिमा छैनन् । उद्धारकर्ताहरूका अनुसार पानीबाट जति समय बाहिर रह्यो त्यति नै उनीहरूको बाँच्ने सम्भावना कम हुँदै जान्छ ।

ती ह्वेल कसरी र किन उक्त तटीय क्षेत्रमा पुगे भन्ने कुरा हालसम्म पनि पत्ता लाग्न सकेको छैन । ह्वेलको यो ‘पाइलट’ प्रजाति तटमा पुगेपछि अलपत्र पर्ने सम्भावना बढी हुन्छ ।

सन् १९९६ यता पहिलोपल्ट यति संख्यामा ह्वेल तटीय क्षेत्रमा भेटिएका हुन् । त्यो बेला पश्चिमी अस्ट्रेलियामा तीन सय २० ह्वेल भेटिएका थिए । यसैगरी तास्मानियामा सन् १९३५ मा २ सय ९४ वटा पाइलट ह्वेल अलपत्र अवस्थामा भेटिएका थिए ।

सोही स्थानमा सन् २००९ मा करिब दुई सय ह्वेल बलौटे पानीमा फसेका थिए । यसरी ह्वेल पानीबाहिर बसेमा बढीमा ३ देखि ४ दिनसम्म बाँच्ने अध्ययनले देखाएको छ ।
(एजेन्सी)