असोज ९, चितवन ।
पछिल्लो समय जिल्लामा होम आइसोलेसनमा बस्नेको संख्या बढेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार हाल कोरोना सक्रिय सङ्क्रमित ९४३ रहेका छन् । जसमध्ये ६ सय २६ जना होम आइसोलेसनमा बसेका छन् । बाँकी तीन सय १७ जना संस्थागत आइसोलेसनमा बसेका छन् ।
कार्यालयमा प्रमुख दीपक तिवारीका अनुसार होम आइसोलेसनमा बस्ने मानिस इमान्दार भए अस्पतालमा जस्तै घरमा पनि सुरक्षित हुने भएकाले होम क्वारेन्टिन प्रभावकारी देखिएको हो । ‘लक्षण नभएकाहरु अस्पतालको आइसोलेसनमा बस्न उपयुक्त ठान्न छाडे’, उनले भने, ‘घरमा बसेपछि खानपान पनि राम्रो हुने र छिटो निको हुने भएकाले पनि होम आइसोलेसनमा बस्नेको संख्या वृद्धि भएको हो । छुटै बस्न भौतिक संरचना नभएकाहरु संस्थागत आइसोलेसनमा बस्नुभएको छ ।’
यससँगै जिल्लामा सञ्चालनमा रहेका क्वारेन्टिन पनि बिस्तारै खाली हुँदै गएको छ । लक्षण नभएका सङ्क्रमित अस्पताल जाँदा शय्याको अभावमा जटिल बिरामीको उपचारमा समस्या आउने भएकाले पनि होम आइसोलेसनमा बस्न सरकारको निर्देशन छ ।
लक्षण देखिएका कोरोना सङ्क्रमित अस्पताल जानुपर्ने सरकारको मापदण्ड निर्धारण गरेकाले पनि होम आइसोलेसनमा बस्नेको संख्या बढ्दै गएको प्रमुख तिवारीले बताए । होम आइसोलेसनमा बसेर कोरोनामुक्त भएकी एक महिलाका अनुसार होम आइसोलेसनमा बस्दा केही कठिन भए पनि परिवारको सहयोगले प्रभावकारी बन्छ । घरमै परिवारबाट छुट्टै बसरे गुर्जो, बेसारपानी र स्वासस्प्रस्वाससम्बन्धी व्यायाम गरे छिट्टै कोरोनालाई परास्त गर्न सकिन्छ ।
हाल होम आइसोलेसनमा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा चार सय ४९ जना बसेका छन् । रत्नननगरमा ६५, खैरहनीमा ५६, राप्तीमा २५, कालिकामा २१, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा पाँच÷पाँच जना छन् ।
चितवनमा अहिलेसम्म एक हजार छ सय ७७ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । जसमध्ये पुरुष नौ सय ९३ र महिला ६ सय ८४ छन् । त्यसमध्ये सात सय १५ कोरोना निको भई घर फर्किएका छन् भने १८ जनाको मृत्यु भएको छ । (रासस)







