‘कबड्डी ४’बाट हिट बनेकी मिरुनाले गरिन् मास्टर डिग्री पूरा, जितिन् गोल्ड अवार्ड

५ साउन, काठमाडौं । पहिलो पटक ‘कबड्डी ४’बाट हिट बनेकी अभिनेत्री मिरुना मगरले मास्टर डिग्री पूरा गर्दै गोल्ड अवार्ड जितेकी छिन्।

फिल्म ‘कबड्डी ४’ प्रदर्शन भइरहेको समयमा लण्डन उडेकी उनले अध्ययनमा पनि महत्त्वपूर्ण सफलता हासिल गरेकी छन् । उनले लण्डनबाट मास्टर डिग्री पूरा गरेकी हुन् ।

लण्डनको ब्रनेल विश्वविद्यालयबाट मास्टर डिग्री पूरा गर्दै गोल्ड अवार्ड पनि जितेको खुशी मिरुनाले इन्स्टाग्राममार्फत् साटेकी छन् । उनले बालबालिका, युवा र अन्तर्राष्ट्रिय विकास विषयमा मास्टर डिग्री गरेकी हुन् । उनले लेखेकी छन्, ‘अनेक बाधाहरुको बावजूद पनि मास्टर डिग्री उत्तीर्ण गर्न पाउँदा र यसबीचमा फिल्मको छायांकन पूरा गर्न सकेकोमा आफूलाई गौरवान्तित महसुस गर्दछु ।’

उनले अगाडि लेख्छिन्, ‘कैयौं अनिन्द्रा रातहरु, लकडाउनको शून्यता र मन भाँचिएका कैयौं क्षणको नतिजाको रुपमा अन्ततः यो उपलब्धि हासिल भएको छ । म मेरो परिवार र साथीहरूलाई सधैं समर्थन र उत्प्रेरित गरेकोमा धन्यवाद नदिइरहँन सक्दिनँ । मेरो जीवनमा उहाँहरूलाई पाएकोमा धन्य र कृतज्ञ छु ।’ लण्डनमै हुर्किएकी मिरुनाका आमा–बुबा अझै पनि त्यही बसोबास गर्ने गर्छन् ।

आफ्नो करिअरमा पहिलो पटक फिल्म ‘कबड्डी ४’बाट हिटको सुःख प्राप्त गर्दैगर्दा यही फिल्म रिलिजको बेला ‘ब्याड टच’ प्रकरणले उनलाई विवादमा पनि तान्यो ।

मिरुना अभिनीत ‘कबड्डी ४’ले हलमा प्रदर्शनको ५१औं दिन मनाइसकेको छ । यो अवधिमा फिल्मले साढे २२ करोडभन्दा माथिको कमाई गर्दै नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाउने फिल्मको रेकर्ड समेत बनाएको छ । लगातार असफलता भोगिरहेकी मिरुनालाई यो फिल्मले ठूलो राहत दिएको छ । अब उनी चाँडै नयाँ फिल्मको छायांकनका लागि लण्डनबाट नेपाल फर्किँदैछिन् ।