श्रावण ५, काठमाण्डौ। विशेष संसदीय छानबिन समितिले कर्मचारी, पत्रकार र पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग बिहिवार गरेको छलफलमा पूर्वअर्थमन्त्रीले अनधिकृत ब्यक्ति प्रवेश नगराएको कुरा दोहोर्याएको समिति सचिब सुरेन्द्र अर्यालले बताएका छन्।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको र सिसिटिभि प्रकरणबारे प्रस्ट पार्न बनेको विशेष समितिका सचिव अर्यालका अनुसार बिहीबारको बयाानमा पूर्वअर्थमन्त्री शर्माले सदनमै भनेको कुरा दोहोर्याएको बताए । शर्माले बजेट निर्माणका क्रममा कुनै पनि अनधिकृत व्यक्ति प्रवेश नगरेको बयान दिएको अर्यालले बताए ।
बिहीबारको छलफलबारे जानकारी दिँदै सचिव अर्यालले भने, ’बिहीबार छानबिनको महत्त्वपूर्ण काम भएको छ । माननीय पूर्वमन्त्रीज्युसँग आज महत्त्वपूर्ण छलफल भएको छ । प्रशासनिक कर्मचारीहरूलाई भन्दा अझ बढी परिष्कृत ढंगले उहाँलाई प्रश्नहरू राखिएको थियो ।’
अर्थ मन्त्रालयका सचिवद्वय मधुकुमार मरासिनी र कृष्णहरि पुष्करलगायतका कर्मचारी र करको दर हेरफेरका लागि अनधिकृत व्यक्तिलाई मन्त्रालय प्रवेश गराएको भन्ने समाचार लेख्ने पत्रकारसँग समितिले छलफल गरिसकेको छ ।
त्यस्तै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज भने प्राप्त गर्न नसकिएको सचिव अर्यालले बताए । सीसीटीभी फुटेज रिकभरी हुने सम्भावनामा नेपाल प्रहरीको फरेन्सिक प्रयोगशालामा हार्डडिस्क पठाइएको पनि उनले बताए । प्रहरीबाट प्राप्त हुने प्रतिवेदनका आधारमा छानबिन अघि बढ्ने उनको भनाइ छ ।
बिहीबार समितिको १० दिनको समयसीमा सकिएको र छानबिनका काम बाँकी नै रहेकाले आवश्यक समय थपका लागि सभामुखलाई आग्रह गरिएको पनि सचिव अर्यालले जानकारी दिएका छन् । ’छानबिनलाई निष्कर्षमा पु¥याउन आवश्यक समय थपका लागि सभामुखज्यूलाई आग्रह गरिएको छ,’ उनले भने ।
समितिले बजेट निर्माणमा संलग्न अर्थमन्त्रालयका १० अधिकारीहरुसँग पनि छलफल गरिसकेको छ । सचिवहरू मधुकुमार मरासिनी र कृष्णहरि पुष्कर राजस्व व्यवस्थापन महाशाखा प्रमुख भुपाल बराल, बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढा, प्रशासन महाशाखा प्रमुख केदार शर्मा, भन्सार विभागका महानिर्देशक कमल भट्टराई, आन्तरिक राजश्व विभागका महानिर्देशक रितेशकुमार शाक्य, सूचना प्रविधि हेर्ने उपसचिव ठेकु श्रेष्ठ, राजश्व व्यवस्थापन महाशाखाका उपसचिवहरू सरद निरौला र गोपाल खत्रीसँग छलफल गरिसकेको छ ।







